जेन–जी आन्दोलनपछि पहिलो पटक बागमती प्रदेशसभा बैठक बस्यो
हेटौंडा । जेन–जी आन्दोलनपछि पहिलो पटक बागमती प्रदेशसभाको बैठक आज बसेको छ। आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि वैकल्पिक स्थानमा बैठक सञ्चालन गरिएको हो।
हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभाहलमा बसेको आजको बैठकसँगै बागमती प्रदेशसभाको बजेट अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकटेल तथा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
जेन–जी आन्दोलनका क्रममा हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा आगजनी गरिएको थियो। आगामी बैठक बस्ने भवनमा समेत क्षति पुगेको भए पनि मर्मतपछि बैठक सञ्चालनमा ल्याइएको छ।
सरकारले प्रादेशिक संरचनाका लागि आवश्यक जग्गा व्यवस्थापनपछि एकीकृत रूपमा भवन निर्माण गर्ने तयारी गरेको जनाएको छ। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षभित्रै प्रदेशसभाका भवनसहित प्रादेशिक संरचना निर्माण प्रक्रिया अगाडि बढाइनेछ।
यसैबीच, अधिवेशन सुरु भएको दुई हप्ताभित्र सभामुख चयन गरिने जानकारी पनि सरकारले दिएको छ। सत्तारुढ दलबीच सभामुख चयनका विषयमा सहमति भइसकेको छैन। जेन–जी आन्दोलनपछि तत्कालीन सभामुख भुवन पाठकले राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ।
कांग्रेसभित्रको आन्तरिक विवादपछि इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेपछिको यो पहिलो प्रदेशसभा बैठक हो, जसलाई आगामी राजनीतिक दिशा निर्धारणका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ।








