एउटै पेनाल्टी दुईपटक प्रहार, फ्रान्सलाई ‘भाग्य’को साथ

जनपत्र
३ असार २०७६, मंगलवार ०६:२७

एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको आयोजक फ्रान्स नाइजेरियालाई पराजित गर्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको छ । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोलरहित रहेको खेलको ७५ औँ मिनेटमा इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नाइजेरिया १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि फ्रान्सले पेनाल्टी पायो । विविएनी एसियीमाथि भएको फउलको भिडियो एसिस्टेन्ट रेफ्री मार्फत रिभ्यु गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए ।

फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन्, तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइनबाट क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन् र फ्रान्स १–० ले विजयी भयो ।
समूह ए बाट फ्रान्स विजेता र दक्षिण कोरियालार्य २–१ ले पराजित गरेको नर्वे उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् । पराजित भएको नाइजेरियाको पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ, उत्कृष्ट तेस्रो स्थानमा रहने टिमका रुपमा ।

यस्तै समूह बी अन्तर्गत सोमबार राति नै भएको खेलमा दक्षिण अफ्रिकालाई ४–० ले पराजित गरेको जर्मनी समूह विजेता बनेको छ । यस्तै चीनसँग गोल रहित बराबरी खेलेको स्पेन समूह उपविजेता बनेको छ ।

चीनसँग समान चार अंक नै भए पनि स्पेन गोल अन्तरका आधारमा समूह उपविजेता बनेको हो । तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा चीनले पनि अघिल्लो चरणमा स्थान बनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*