टर्कीलाई अमेरिकाको अन्तिम चेतावनी– रुस र अमेरिकी प्रणालीमध्ये एकमात्रै छनोट गर्नुपर्ने

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०६:००

बीबीसी । अमेरिकाले टर्कीलाई जुलाइसम्मको अन्तिम समय दिँदै अमेरिकी लडाकू विमान र रुसी एन्टि–मिसाइल प्रणालीबीच एकको छनौट गर्न भनेको छ । अमेरिकाका कार्यबाहक रक्षा सचिव प्याट्रिक सनहनले टर्कीलाई अन्तिम चेतावनी सहितको यस्तो पत्र लेखेका हुन् ।
उनले भनेका छन्, “टर्कीले अमेरिकाको एफ–३५ आधुनिक लडाकू विमान र रुसको एस–४०० प्रणाली दुईवटै लिन पाउँदैन ।”यसरी नाटोका सदस्य यी दुवै देशबीच महिनौँदेखि रुसको एस–४०० प्रणालीलाई लिएर विवाद चर्किरहेको छ । अमेरिकाका अनुसार रुसी प्रणाली नाटोको प्रतिरक्षात्मक प्रणालीसँग मेल खाँदैन र सुरक्षाका लागि समेत खतरा साबित हुन सक्नेछ । यसैकारण अमेरिकाले टर्कीलाई आफ्नै मित्रराष्ट्रसँगको हतियार प्रणाली खरिद गर्न दबाब दिँदै आइरहेको छ ।
तर अर्कोतर्फ स्वतन्त्र प्रतिरक्षात्मक नीति अपनाउने टर्कीले १०० वटा एफ–३५ खरिद गर्ने सम्बन्धी हस्ताक्षर गरेको छ र यसका ९३७ वटा पूर्जाहरु निर्माण गर्न टर्कीका कम्पनीहरुको सहकार्यमा उच्च लगानी गरेको छ । यसबीच रुससँगको मुद्दा दुवैका निम्ति असहमतिको विषय बनिरहेको छ । यसअघि नाटोका युरोपेली कमान्डर जर्नेल टड वोल्टर्सले पनि भनेका छन्, “हामी रुससँग हाम्रो एफ–३५ को क्षमता शेयर गर्न इच्छुक छैनौँ ।”

वास्तवमा टर्कीले दुवै हतियार प्राप्त गरे रुसका प्राविधिकविद्हरुले अमेरिकी विमानका संवेदनशील जानकारीको पहुँच पाउनेबारे अमेरिकालाई सबैभन्दा ठूलो चिन्ता रहेको छ । किनकी यसले अमेरिकी पाइलटलाई थप खतरामा पार्न सक्छ । यसका साथै टर्की, रुस र अमेरिकाले सिरियाको उत्तरी क्षेत्रमा एकसाथ सैन्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । टर्कीले भने रुससँगको हतियार कारोबार सम्झौतामा हस्ताक्षर गरिसकेपछि मात्र अमेरिकाले असन्तुष्टि जनाएको आरोप लगाउँदै अब सो सम्झौताबाट पछि हट्न धेरै ढिलो भइसकेको बताइरहेको छ । यसरी अमेरिकाको लगातार विरोध गरेतापनि टर्कीले एकपटक दिएको वचनलाई फिर्ता नलिने अडान लिएको हो ।

यस्तोमा अमेरिकाले लेखेको पत्रमा टर्कीले एस–४०० को सञ्चालन सम्बन्धी प्रशिक्षण लिन टर्कीका अधिकारीलाई रुस पठाएको सम्बन्धी पनि निराशाजनक प्रतिक्रिया दिएको छ । पत्रमा उल्लेख गरिएको छ, “यदि टर्कीले एस–४०० को आपूर्ति गर्छ भने एफ–३५ प्राप्त गर्ने छैन । त्यसैले तपाईँहरुसँग अझै रुसबारे आफ्नो निर्णय बदल्ने विकल्प छ । किनकी हामी एफ–३५ लाई एस–४०० को नजिक ल्याउन चाहदैनौँ ।” यता टर्कीका राष्ट्रपति एड्रोगनले भने आफ्नो देश एस–४०० सम्झौता पूरा गर्न समर्पित रहेको ठहर गरेका हुन् । त्यस्तै रुसका प्रतिरक्षा प्रमुखले पनि शुक्रबार मात्र एस–४०० अबको दुई महिनामै टर्कीमा डेलिभरी हुने बताएका हुन् ।

के हो एस–४०० प्रणाली ?

वास्तवमा यो प्रणालीलाई मिसाइलको दुनियाँकै सबैभन्दा जटिल उपकरणको नाम दिइएको छ । यसले ४०० किलोमिटरको रेन्जसम्म एकैपटकमा ८० लक्ष्यमाथि प्रहार गर्न सक्छ । रुसका अनुसार यो तलबाट उड्ने ड्रोनदेखि धेरै उचाइमा रहेका विमानलाई समेत झार्न सक्षम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*