मनहरीमा १७१ किलो गाँजासहित हात्ती गाडी नियन्त्रणमा, चालक पक्राउ

जनपत्र
१० चैत्र २०८२, मंगलवार ११:२३

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक हात्ती गाडी नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत १० गते बिहान करिब ६:१० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा आउँदै गरेको गाडीलाई रोकी जाँच गरेको थियो।

राक्सिराङ गाउँपालिका–१ भाबरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्ती गाडी चेकजाँच गर्दा गाडीको पछाडि लोड गरिएको अवस्थामा २७ प्याकेट लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी चालक राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने अन्दाजी २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई गाँजासहित नियन्त्रणमा लिएको छ। बरामद गाँजाको तौल गर्दा जम्मा १७१ किलो २१ ग्राम रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका स्याङतानलाई गाडी सहित इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*