हेटौंडा महोत्सव विवादित : विद्यार्थीको परीक्षा प्रभावित, टिकट र पार्किङ शुल्कमा ठगीको गुनासो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० टिसियन चौरमा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवका कारण स्थानीय विद्यार्थीको परीक्षा प्रभावित भएको भन्दै व्यापक गुनासो आएको छ। साथै, महोत्सवमा टिकट र पार्किङ शुल्कका नाममा अनियमितता भएको आरोप पनि उठेको छ।
हेटौंडा–१० स्थित सोलिड्यारेटी इन्टरनेसनल माध्यमिक विद्यालय, तुलसी मेयर माध्यमिक विद्यालय र ज्ञानदा माध्यमिक विद्यालयका करिब ३ हजार विद्यार्थीको परीक्षा महोत्सवका कारण प्रभावित भएको जनाइएको छ। आउँदो आइतबारदेखि आन्तरिक परीक्षा सुरु हुने तयारी भइरहेका बेला बिहानदेखि रातिसम्म चल्ने ठूलो आवाजका साउण्ड सिस्टमका कारण अध्ययन तथा परीक्षा वातावरण बिग्रिएको विद्यालयहरूले बताएका छन्।
सोलिड्यारेटी माध्यमिक विद्यालयकी प्रिन्सिपल रिना आचार्यका अनुसार विद्यालयमा करिब १७ सय विद्यार्थी अध्ययनरत छन्। “एसईई बाहेकका कक्षाहरूको परीक्षा चैत ८ गतेबाट सुरु हुँदैछ, तर महोत्सवको होहल्लाले विद्यार्थीलाई ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ,” उनले भनिन्।

यसै समस्या हेटौंडा सामुदायिक आँखा अस्पतालले पनि भोगिरहेको जनाएको छ। अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठका अनुसार चर्को आवाजका कारण बिरामीको आँखाको जाँच तथा उपचारमा समेत असर परेको छ।
विद्यालयहरू र अस्पतालले महोत्सव रोक्न वा व्यवस्थापन गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र वडा नम्बर–१० मा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तानले भने विद्यार्थीलाई समस्या नपर्ने गरी दिउँसो २ बजेपछि मात्र साउण्ड सिस्टम प्रयोग गरिएको दाबी गरे। “महोत्सवलाई नकारात्मक रूपमा मात्र नलिन आग्रह गर्दछु। यसले खेलकुद र व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ,” उनले भने।
मेलाकै माध्यमबाट पुरुष महिला, भलिबल, ताइकन्दो, दौड प्रतियोगिता, ब्याड मिन्टन्, कराँते लगायतका खेलकुदको आयोजना गरेका उनले बताए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले भने विद्यार्थीको समस्याबारे औपचारिक रूपमा जानकारी नआएको बताइन्। “महोत्सव सञ्चालनका लागि स्वीकृति दिइएको हो, तर यसरी समस्या आएकोबारे जानकारी आएको छैन,” उनले भनिन्। विद्यालय र अस्पतालले भने प्रमुख प्रशासकीय अधिकृत भरत गौतममार्फत ज्ञापनपत्र बुझाएको बताएका छन्।
यसपटक महोत्सव १५ दिनसम्म सञ्चालनका लागि अनुमति दिइएको छ, जबकि कार्यविधिमा सामान्यतया ७ देखि १० दिनसम्मको अवधि मात्र उल्लेख छ।
टिकट र पार्किङ शुल्कमा अनियमितता
महोत्सवमा सहभागी दर्शकहरूबाट टिकट तथा पार्किङ शुल्कका नाममा गैरकानुनी असुली भइरहेको आरोप समेत लागेको छ। प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ लिइएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।
त्यसैगरी, सार्वजनिक चौर तथा खुला स्थानमा सवारी पार्किङका नाममा मनपरी शुल्क असुलिएको पाइएको छ। भुटनदेवी युवा क्लबको नाममा रसिद काट्दै मोटरसाइकल तथा स्कुटरबाट ३० रुपैयाँ र गाडीबाट ५० रुपैयाँसम्म लिइएको सहभागीहरूको गुनासो छ।

पार्किङ शुल्क उठाउन स्थानीय तह वा सम्बन्धित निकायबाट स्वीकृति आवश्यक पर्ने भए पनि महोत्सव क्षेत्रमा त्यस्तो प्रक्रिया पालना नभएको आरोप छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले महोत्सव सञ्चालनको अनुमति स्थानीय तहले दिने भएकाले प्रशासनले मुख्यतः सुरक्षा व्यवस्थामा ध्यान दिएको बताए। “जनगुनासो आएपछि अनुगमन गरिरहेका छौं,” उनले भने।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले पार्किङ शुल्क नलिन निर्देशन दिइएको र उल्लङ्घन भए कारबाही गरिने बताए। साथै, महोत्सव परिसरमा मदिराजन्य पदार्थ बिक्री नियन्त्रण गर्न पनि निर्देशन दिइएको उनले जानकारी दिए।
महोत्सवले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि व्यवस्थापन कमजोरीका कारण शिक्षा, स्वास्थ्य र उपभोक्ता अधिकारसँग सम्बन्धित गम्भीर प्रश्न उठाएको छ।






