नविन सुब्बाको ‘गाउँ आएको बाटो’ मा दयाहाङ

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:०६

फिल्म ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले दश वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । फिल्म ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् । यो फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस फिल्मले राई समुदायको कथा भन्नेछ ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । फिल्म खिच्न निर्देशक सुब्बाले अमेरिकाबाट छायाँकार झिकाएका छन् । मार्किन कापरोनले फिल्म खिच्नेछन् । नेपाली छायाँकारसँग आफ्नो सोच नमिल्ने र खर्चको हिसाबले पनि धान्न नसक्ने भएकाले अमेरिकाबाट छायाँकार झिकेको सुब्बाले बताए ।

महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको फिल्मको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु फिल्मको सह(निर्मातामा रहेका छन् ।

निर्देशक सुब्बाले फिल्म राम्रो बनाउन प्रयास गर्ने बताए । फिल्मको घोषणा सभामा उनले भने( ‘म लामो समयपछि निर्देशनमा फर्किएको छु । फिल्म भयंकर राम्रो बनाउँछु भनेर दाबी त गर्दिनँ तर नराम्रो पनि बनाउने छैन । स्क्रिप्टबाट म सन्तुष्ट छु । अहिले हामी कलाकारसँँग बसेर चरित्र निर्माणको विषयमा छलफल गरिरहेका छौं । फिल्मले नेपाली समाजको यथार्थलाई पस्किनेछ ।’

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिफिल्म ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि फिल्ममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*