वायुको तापक्रम घट्दै, चिसोबाट बच्न २४ घण्टे चेतावनी

जनपत्र
१ मंसिर २०७८, बुधबार ०८:२०

देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार दैनिक तापक्रम घट्ने क्रम चलिरहेको छ। ‘यो नियमित प्रक्रियाबमोजिम नै तापक्रम घटिरहेको हो’, मौसमविद् नगरकोटीले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘एकदमै ह्वात्तै घटेको अवस्था होइन।’

उनका अनुसार अहिले बिहान ७ बजे काठमाडौं उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस छ भने बिहान साढे ५ बजेको मापनमा ७.८ डिग्री सेल्सियस देखिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

बिहीबारसम्म आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। शुक्रबार भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

साथै चिसोबाट बच्न सुझाव दिँदै मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ, ‘वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*