केरा आयात रोकिँदा मकवानपुरका किसान उत्साहित, उपभोक्ता भने महँगीको चपेटामा
हेटौंडा। केरा आयातमा लगाइएको प्रतिबन्धले मकवानपुरका केरा किसानमा उत्साह थपिएको छ। बाहिरी केरा बजारमा कम आउन थालेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको भन्दै किसानहरू सन्तुष्ट देखिएका छन्। तर अर्कोतर्फ यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ। बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेपछि उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य भएका छन्।
मकवानपुरका हेटौंडा, मकवानपुरगढी, मनहरी, राक्सिराङ र बकैया क्षेत्रका किसानले यसपटक आफ्नो उत्पादनले राम्रो बजार पाएको बताएका छन्। विगतमा भारतीय केरासँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेकोमा अहिले स्थानीय उत्पादनको माग बढेको उनीहरूको भनाइ छ। किसानहरूका अनुसार बाहिरबाट केरा भित्रिन रोकिएपछि स्थानीय उत्पादन सहजै बिक्री हुन थालेको छ।
मकवानपुरगढी –४ का किसान सोम प्रसाद दाहालले विगतमा उत्पादन गरेको केरा समयमै बिक्री नहुँदा घाटा व्यहोर्नुपरेको स्मरण गर्दै यसपटक बजारमा माग राम्रो भएकाले राहत मिलेको बताए। स्थानीय उत्पादनले मूल्य पाउन थालेपछि आगामी सिजनमा खेती विस्तार गर्ने तयारीसमेत भइरहेको किसानहरूको भनाइ छ।
मकवानपुरमा पछिल्ला वर्षहरूमा केरा खेती व्यवसायिक रूपमा विस्तार हुँदै गएको छ। विशेषगरी मकवानपुरगढी, मनहरी र राक्सिराङ क्षेत्रलाई केरा उत्पादनको सम्भावना बोकेको क्षेत्र मानिन्छ। किसानहरूले यसलाई आम्दानीको भरपर्दो माध्यमका रूपमा विकास गर्दै आएका छन्।
तर बजारमा स्थानीय उत्पादन मात्र पर्याप्त नहुँदा मूल्य बढेको व्यवसायीहरू बताउँछन्। हेटौंडा बजारका खुद्रा व्यवसायी उमेश साहका अनुसार केही सातायता केराको मूल्य निरन्तर उकालो लागेको छ। मातातीर्थ औँसीजस्तो विशेष अवसरमा माग अझ बढेकाले मूल्य झन् चर्किएको उनीहरूको भनाइ छ।
उपभोक्ताहरू भने दैनिक उपभोग्य फलफूलको मूल्य आकासिँदा चिन्तित छन्। सामान्य परिवारले नियमित किनेर खाने फलफूलमध्ये केरा पनि पर्छ। तर अहिलेको मूल्यले किनमेलमा असर पारेको उपभोक्ताको गुनासो छ।
हेटौंडा–२ का राम प्रसाद घिमिरेले पहिले सजिलै किनिने केरा अहिले सोचेर मात्र किन्नुपर्ने अवस्था आएको बताए। फलफूल स्वास्थ्यका लागि आवश्यक भए पनि महँगो हुँदा उपभोग घटाउनुपरेको उनको भनाइ छ।
व्यवसायीहरूका अनुसार आयातमा रोक लागेपछि बजारमा आपूर्ति सहज छैन। मागअनुसार पर्याप्त परिमाणमा केरा नपुग्दा मूल्य स्वतः बढेको हो। बजारमा पाइने केही आकर्षक र ठूलो आकारका केरा अवैध रूपमा भित्रिएको हुनसक्ने आशंका पनि व्यवसायीहरूले गरेका छन्।
केरा आयात रोक्नुको मुख्य कारण रोगको जोखिम बताइएको छ। कृषि प्राविधिकहरूका अनुसार ‘टीआर–४’ नामक रोगले केरा खेतीमा गम्भीर असर पार्न सक्छ। यही जोखिमलाई ध्यानमा राखेर आयात नियन्त्रण गरिएको हो।
मकवानपुरका किसान भने यो निर्णयलाई अवसरका रूपमा लिइरहेका छन्। उनीहरूका अनुसार यदि सरकारले स्थानीय उत्पादनको बजारीकरण, भण्डारण र ढुवानीमा सहयोग गरिदिए मकवानपुरले आफ्नै उत्पादनले धेरै हदसम्म बजार धान्न सक्छ।
किसान अगुवाहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति दीर्घकालीन रूपमा राम्रो भए पनि बजार व्यवस्थापन र उपभोक्ता हितलाई सन्तुलनमा राख्नुपर्ने बताएका छन्। उत्पादन कम हुने समयमा वैकल्पिक व्यवस्थापन आवश्यक हुने उनीहरूको भनाइ छ।
अहिलेको अवस्था हेर्दा मकवानपुरका किसानका लागि केरा आयात प्रतिबन्ध अवसर बनेको छ भने उपभोक्ताका लागि चुनौती। किसानले उचित मूल्य पाएर उत्साहित भइरहेका बेला उपभोक्ताले भने महँगीको मार बेहोरिरहेका छन्। अब सरकारको भूमिका स्थानीय उत्पादन प्रवर्द्धन र बजारमा मूल्य नियन्त्रणबीच सन्तुलन कायम गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।






