ब्रेकअपपछि नीता र आमेशको रोमान्स (भिडियो)

अभिनेता आमेश भण्डारी र अभिनेत्री नीता ढुंगानाले दुई फिल्म ‘तँ म र ऊ’ र ‘फूलै फूलको मौसम तिमीलाई’ मा साथ काम गरेका छन् । दुबै फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरु प्रेम जोडी पनि हुन् । तर, पूर्व । ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजसँगै दुईको ब्रेकअप भएको थियो ।
प्रेममा रहँदा फिल्म करिअरमा असर गर्ने बुझेर दुईले आपसी सहमतीमै प्रेम सम्बन्धलाई टुंग्याउने निर्णय लिएका थिए । अहिले दुबै सिंगल रहेको बताउँछन् । प्रायः युवा-युवतीहरु ब्रेकअपपछि एकअर्कासँग भेट गर्न र बोल्न मन पराउँदैनन् । नीता र आमेश भने निर्धक्क एकअर्कासँग भेट्छन् र बोल्छन् । दुईले मिडियामा ब्रेकअपपछि साथमा थुप्रै अन्तर्वार्ता पनि दिइसकेका छन् ।
ब्रेकअपपछि ठूलो पर्दामा साथमा नदेखिएका दुईले पहिलो पटक म्यूजिक भिडियोमा भने स्क्रिन साझेदारी गरेका छन् । दुई अभिनीत ‘बैमानी बैमानी’ बोलको गीत बिहीवार युट्युबमा सार्वजनिक भएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको गीतमा काम गरेपछि दुईको प्याचअप भएको चर्चा फिल्मवृतमा सुरु भएको छ । तर, दुबै आफूहरु मिल्नै साथी मात्र रहेको बताउँछन् ।
नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुनः सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ ।
मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । यो गीतले नीता र आमेशलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकलाई पनि सजिलो बनाइदिएको छ । ‘बैमानी बैमानी’ गीतको भिडियोमा दुईको जोडीलाई दर्शकले निकै रुचाएका छन् ।
गीत हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=Obm8kw6DuPghttps://www.youtube.com/watch?v=Obm8kw6DuPg
https://www.youtube.com/watch?v=Obm8kw6DuPghttps://www.youtube.com/watch?v=Obm8kw6DuPg