पोखरामा खुला हुँदै गाँजा र सेक्स

पोखरामा व्यावसायिक यौन गतिविधिको सुविधासहित रेड लाइट एरिया बनाउनुपर्ने धारणा सार्वजनिक गरेलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादमा तानिए । कानुनले छूट नदिए पनि पर्यटकीय क्षेत्र पोखरामा व्यावसायिक यौन गतिविधि हुने गरेकाले त्यसलाई कानुनी दायरामा ल्याउन उनले सार्वजनिक गरेको प्रस्तावमा केहीको समर्थन नआएको पनि हैन तर अधिकांशले सामाजिक मूल्य, मान्यतामा खलल पुर्याउन खोजेको भनेपछि उनी मौन बसे । उनले आफ्नो प्रस्ताव औपचारिक रुपमा फिर्ता भने लिएका छैनन् ।
अहिले पुनः गण्डकी प्रदेशले अर्को प्रस्ताव अगाडि बढाएको छ, ‘इन्जोय जोन’को नाममा । नाम बदलेर नौ करोड बजेटसमेत छुट्ट्याइसके पनि यसको उद्देश्य लगभग रेड लाइट एरिया भन्दा कम छैन । ‘इन्जोय जोन’मा व्यावसायिक यौन गतिविधि त छँदैछ, योसँगै लागुऔषध, मदिरा र रात्रिकालीन गतिविधिका अन्य सुविधाको समेत परिकल्पना गरिएको छ ।
रेड लाइटको परिमार्जित प्रस्ताव मुख्यमन्त्री गुरुङले अगाडि बढाएका भने हैनन् । अहिले गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय सक्रिय भएको छ यसमा । यसलाई प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जोडतोडले अगाडि बढाइरहेका छन् । उनले अवधारणा मात्र बनाएका छैनन्, ‘इन्जोय जोन’ बनाउन नौ करोड बजेटसमेत छुट्ट्याइसकेका छन् ।
पोखराको मुख्य शहरी क्षेत्रबाट अलि बाहिर ‘इन्जोय जोन’ बनाउन सरकारी जग्गा खोज्ने कामसमेत शुरु भइसकेको छ । यसका लागि विस्तृत योजना बनाउने काम अघि बढिसकेको मन्त्री लम्सालले शुक्रवारलाई जानकारी दिए ।
‘इन्जोय जोनमा यौन गतिविधि मात्र हुने होइन,’ मन्त्री लम्सालले शुक्रवारसँग भने, ‘त्यहाँ खाने, बस्ने, सुत्ने, म्युजिकसँगै रमाउने र धेरै विकसित देशहरुले खुला गरिसकेको गाँजाको सेवनसमेत गर्न सकिने गरी बनाउने छौं ।’
रात्रिकालीन मनोरञ्जनका रुपमा मदिरा सेवन, म्युजिकमा मस्ती र आपसी सहमतिमा पार्टनरसहित यौनको स्वाद लिन छूट छ, पोखरामा । अहिलेको कानुनले यस्ता गतिविधिमा रोक लगाएको छैन तर सामाजिक सदाचारको आवरणमा प्रहरीले होटलमा छापा मारेर आन्तरिक र बाह्य पर्यटकको मुड भने खराब बनाउँछ बेलाबखत ।
प्रहरी जति कसिलो भए पनि गुपचुप देहव्यापार र ट्रान्स पार्टीको आवरणमा ड्रग्स पार्टी रोकिएको भने छैन । फाट्टफुट्ट यौनकर्मीहरु पक्राउ परिरहन्छन् । यौन गतिविधि हुने बाग्लुङ बसपार्क लगायतका क्षेत्रमा प्रहरीको कडा नजर भए इच्छा गर्नेहरु रित्तै फर्कन पर्दैन पोखराबाट ।
गाँजाको मामिलामा पनि यस्तै छ अवस्था । बागलुङ, कास्कीको माथिल्लो भेग लगायतका क्षेत्रबाट पर्यटकलाई लक्षित गरी ‘हिमालयन ह्यास’ भित्रिरहेको छ पोखरामा । गुपचुप रुपमा ड्रग्स पार्टी पनि भइरहन्छ । एक महिना अगाडि लेकसाइडको एउटा होटलमा पार्टी गरिरहेकालाई प्रहरीले छापा मारेर पक्रेको थियो ।
पर्यटन मन्त्रीको प्रस्तावअनुसार काम अगाडि बढ्यो भने सेक्ससँगै गाँजासमेत खुला हुनेछ पोखरामा । तोकिएको क्षेत्रमा देह व्यापारले कानुनी मान्यता पाउनेछ भने तोकिएको मापदण्डमा बसेर खुल्लमखुल्ला गाँजाको सर्को तान्दा प्रहरीले अवरोध गर्न पाउने छैन ।
सहज छैन अवधारणा
नेपाल परिवार नियोजन संघको तथ्यांकअनुसार नेपालमा ४० हजार व्यावसायिक यौनकर्मी छन् । अर्कोतर्फ फ्रि सेक्स वर्कर ९एफएसडब्लु० ले उपलब्ध गराएको तथ्याङ्कमा भने नेपालमा गत आर्थिक वर्षसम्म ५६ हजार यौनकर्मी सक्रिय छन् । उनीहरु अधिकांश शहरी क्षेत्रमा छरिएका छन् तर नेपालको विद्यमान कानुनले अनुमति लिएर व्यावसायिक रुपमा यौन व्यवसाय गर्न रोक लगाएको छ ।
पोखरामा पनि कडाई छ अहिले तर पैसा खर्च गरेर यौनको स्वाद लिन चाहनेका लागि त्यत्ति कठिन छैन अझै पोखरा । गुपचुप धन्दा चलि नै रहेको छ । फोन कलको आधारमा एक रातको २ हजारदेखि १५ हजारसम्म रेट भएका व्यावसायिक यौनकर्मी सहजै पाइन्छ पोखरामा ।
पहिले नयाँ बसपार्क भनिने अहिलेको बाग्लुङ बसपार्क ०४४ मा बाग्लुङ–पोखरा सडकमार्ग खुलेपछि स्थापना भयो । त्यतिबेलादेखि नै यहाँ ससाना टहरा बनाएर व्यापार सुरु भयो । बिस्तारै यस्ता टहरामा यौन व्यवसाय पनि थल्न थाल्यो ।
‘जहाँ बसपार्क आउँछ, त्यहाँ यौन व्यवसाय भित्रन्छ,’ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘यहाँ बसपार्कसँगै यौन धन्दा पनि शुरु भयो ।’ बिस्तारै बाग्लुङ बसपार्कले अघोषित रेडलाइट एरियाको दर्जा पायो ।
पोखरा छिर्ने मुख्य नाका पृथ्वी चोक, सभागृह चोक, जाल्पारोड, नयाँबजार, सृजनाचोक, लेकसाइड, महेन्द्र पुल लगायतका क्षेत्रमा यौनकर्मीको चहलपहल देखिन्छ ।
लागुऔषधको अवस्था पनि उस्तै छ ।
पूर्वको काँकरभिट्टादेखि पश्चिमको महेन्द्रनगर मात्र होइन दक्षिणको सुनौली नाकाबाट समेत लागुऔषध पोखरामा भित्रन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङका अनुसार गाँजा, चरेसजस्ता लागुपदार्थ बागलुङ, म्याग्दी, पर्वत, नुवाकोट, धादिङ, मकवानपुरबाट भित्रन्छन् ।
नेपालमा २०३३ सालसम्म गाँजा खुलै थियो । ठमेल लगायतका क्षेत्रमा गाँजा खुला रुपमा बिक्री हुन्थ्यो । ती गाँजा बाग्लुङ, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्थे तर लागुऔषध नियन्त्रण ऐन बनेसँगै खुला बिक्री मात्रै हैन, उत्पादन र सेवनमा समेत कडाई गरियो । यी सबै परिर्वतन हुनुको कारण थियो, नेपालमा बढ्दो अमेरिकी युवाको हिप्पी कल्चर । अमेरिकी सरकारको योजनामा गाँजामाथि नेपालमा कडाई भएको थियो ।
तर अहिले अमेरिकासहित युरोपका अधिकांश शहरमा गाँजाले मान्यता पाउँदै गएको छ । जसको योजनामा नेपालमा गाँजा प्रतिबन्धित भएको हो, उसैको शहरमा गाँजा खुला हुन थालेपछि नेपालमा पनि किन खुला नगर्ने भनेर बहस शुरु भएको छ । संघीय संसद्मा समेत नेपालमा गाँजा खुला गराउने पक्षमा आवाज उठिसक्यो । हेटौँडाका संघीय सांसद विरोध खतिवडाले सांसद्मै गाँजा खुलाउनुपर्ने माग गरिसकेका छन् तर उनको पक्षमा माहोल बन्न सकेको छैन ।
गाँजा खुला गराउन दबाब बढ्दै गए पनि लागुऔषध नियन्त्रण ऐनले रोप्न र खान प्रतिबन्ध लगाएको छ । प्रदेश पर्यटन मन्त्री लम्सालको योजनाले साकार रुप लिन प्रदेश सरकारले यी दुवै कानुनबारे प्रदेश कानुन बनाउन आवश्यक छ । जुन त्यत्ति सहज देखिन्न ।
तर लम्साल दृढ देखिएका छन् । लम्साल रेड लाइट एरिया भनेर तुच्छ क्षेत्र बनाउनुभन्दा यसलाई इञ्जोय क्षेत्र भनेर सामान्यीकरण गर्नुपर्ने पक्षमा सक्रिय भएर लागेका छन् । विकृति बढाउने भन्दा पनि व्यवस्थित गरेर पोखरा आउने पर्यटकलाई मनोरञ्जन गराउने उनको लक्ष्य देखिएको छ ।
‘इञ्जोय क्षेत्रमा मनोरञ्जनात्मकमा पर्ने सबै गतिविधिमा छूट दिने हाम्रो योजना हो,’ उनले अवधारणा खुलाउँदै भने, ‘इञ्जोय जोनमा गइसकेपछि पर्यटकले यौनदेखि सफ्ट लागुऔषधसम्म, चाहेका सबै आनन्द र स्वाद लिन पाउन सकून् न १’
स्वतन्त्र क्षेत्र
उनको अवधारणाअनुसार ‘इन्जोय जोन’मा सुरक्षाको पूर्ण ग्यारेटी हुनेछ तर प्रहरी प्रशासनको हस्तक्षेप हुने छैन । इन्जोय क्षेत्रमा कुनै लफडा भए सो क्षेत्रकै प्रशासनले मिलाउने गरी सुरक्षा अवधारणाको गृहकार्य भइरहेको छ ।
‘इञ्जोय जोन पोखरामै हुन्छ तर सहरको केन्द्र भागमा भन्दा केही पर,’ उनले खुलाए, ‘कोलाहल नभएको शान्त र त्यसले समाजमा असर नपार्ने ठाउँको खोजी भइरहेको छ ।’
व्यवसायी सकारात्मक
इञ्जोय क्षेत्र बनाउने पर्यटन मन्त्रीको योजनामा पोखरामा पर्यटन व्यवसायी सहमत देखिएका छन् । पर्यटकको बसाइ र खर्च बढाउन सकिने अनि बैंककको विकल्पको रुपमा पोखराको विकास गर्न सकिने आशा रहेछ उनीहरुको ।
समाजलाई नकारात्मक असर नपर्नेगरी एकान्त ठाउँमा इञ्जोय जोन खोल्न सकिने बताउँछन् पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल ।
‘पर्यटकहरु रमाइलो गर्नकै लागि आएका हुन्छन्,’ उनले भने, ‘सरकारले यसलाई व्यवस्थित गरेर लैजान सक्छ भने राम्रो कुरा हो । अहिले पनि यौन गतिविधि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा भइरहेको नै छ । व्यवस्थित गराउन सके राम्रै हो ।’
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि मन्त्री लम्सालको प्रस्तावप्रति सकारात्मक देखिए । लम्सालको अवधारणामा होटल तथा रेष्टुरेण्ट एसोसियन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले पनि समर्थन गरेका छन् ।
‘अहिले लुकीछिपी भइरहेको कामलाई व्यवस्थित बनाउने त हो नि,’ तुलाचनले भने, ‘तर यसको भविष्यले समाजले यसलाई कसरी लिन्छ भन्नेमा भरपर्छ ।’
थापा पर्यटक भुलाउने र आकर्षित गर्न रेड लाइट क्षेत्र सहितको इञ्जोय जोन बनाउने प्रदेश सरकारको कदम स्वागतयोग्य भएको बताउँछन् । निश्चित क्षेत्र तोकिसकेपछि अन्य ठाउँमा भने नियन्त्रण गर्नुपर्ने तर्क राख्दै उनले भने, ‘पर्यटकलाई आकर्षित गर्न र आएका पर्यटकलाई भुलाउन यो आवश्यक छ तर एक ठाउँमा राखिसकेपछि अर्को ठाउँमा भने जथाभावी नफैलियोस् भन्नेमा सचेत हुनै पर्छ ।’
कहाँ बन्न सक्छ इन्जोए जोन ?
प्रदेश ४ का पर्यटन मन्त्री लम्सालका अनुसार इन्जोय जोनका लागि सम्भावित स्थानको पहिचान भइसकेको छ । यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी भइरहेको छ ।
उनले निजी क्षेत्रले इन्जोय जोन बनाउने स्थान पोखरा बजारबाट नजिक, हिमाल र ताल देखिने क्षेत्र हुनुपर्ने शर्त राखेको छ । उनीहरुको सर्तअनुसार प्रदेश सरकारले पामेदेखी भदौरेसम्मको क्षेत्रलाई हेरेको छ ।
तर सो क्षेत्रमा सरकारी जग्गा नभएकाले निजी जग्गा अधिग्रहणमा समस्या हुनसक्छ ।
दोस्रो सम्भावित क्षेत्रमा शान्ति स्तुपभन्दा माथिको पुम्दीकोट रोजिएको छ । सो क्षेत्र पोखराबाट नजिक, ताल र हिमश्रृंखला देखिने स्थानमा छ । त्यसबाहेक मट्टिखान र पोखरा १९ मा पर्ने ढिंकीडाँडाको पनि अध्ययन भइरहेको लम्सालले बताए ।
यो समाचार सुक्रबार साप्ताहिकबाट साभार गरिएको हो ।