भारतमा ‘फेनी’ आँधीको आतंक, नेपालमा असर पर्छ कि पर्दैन?

जनपत्र
१८ बैशाख २०७६, बुधबार ११:४७

छिमेकी मुलुक भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधीले आतंक मच्चाउन सक्ने समाचार सार्वजनिक भएपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ।भारतीय मौसम विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको छ।
बंगालको खाडीबाट उठेको उक्त चक्रवातले प्रतिघण्टा १५५ देखि १७५ किलोमिटरसम्म वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन्। त्यसको प्रभाव नेपालमा पनि पर्छ कि भनेर यतिबेला चिन्ता र चासो भइरहेको हो। तर जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले यसबाट नेपालका मानिसले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। मौसमविद् विभूति पोखरेलले भारतको फेनी आँधी नेपालमा आउने सम्भावना नरहेको बताइन्। ‘त्यो आँधी समुद्रमा आउने भएकाले नेपालमा आउने सम्भावना देखिँदैन,’ उनले भनिन्, ‘त्यही भएर डराउनुपर्ने अवस्था छैन।’

तर शुक्रबार बेलुका यसकाे थोरै असर नेपालका पूर्वी र मध्य क्षेत्रमा देखिने सम्भावना रहेको उनको भनाइ छ। सामान्य वर्षा र हावाहुरी आउनसक्ने भए पनि अहिलेसम्मको अध्ययन अनुसार डराउनुपर्ने अवस्था नरहेको उनले बताइन्।

अर्का मौसमविद् मीनकुमार अर्यालले उक्त आँधी कुन बाटो भएर आउँदै छ भनेर अध्ययन भइरहेको बताए। उनले पनि अहिलेसम्मको अध्ययनले फेनी आँधीको सम्भावना नेपालमा नदेखिएको बताए। ‘शुक्रबार बेलुकी पूर्वी र मध्य क्षेत्रमा केही असर पर्ने देखिएको छ,’ उनले भने, ‘तर त्यस्तो डराउनुपर्ने अवस्था छैन।’ उनले थपे, ‘हामी तीन/तीन दिनको मौसम अनुमान सार्वजनिक गर्छाैँ, हेर्दै गर्नुहोला।’

यसअघि कहिल्यै नआएको ‘टोर्नाडो’ आँधी गत चैत २७ गते बारा र पर्सामा आएर २८ जनाको ज्यान गएपछि नेपालमा त्रास फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार आज दिउँसो र राति देशभर आंसशकदेखि सामान्य बदली रही पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै बिहीबार र शुक्रबार पनि यस्तै सम्भावना रहेको उल्लेख गरिएको छ।

नेपालखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*