पर्यटकलाई कुर्दै राक्सिराङको लालपार्क (तस्बिर र भिडियो सहित)
राक्सिराङ/मकवनपुरको राक्सीराङ गाउँपालिका ५ कुतसिङ नजिकै पर्दछ प्राकतिक रुपमा रातो माटोबाट बनेको लालपार्क । धमिराको गोलो जस्तै देखिने रातो माटोको चुच्चो परेको ढिस्कोहरु भएको ठाउँमा मकवानपुरको सदरमुकाम हेटौंडाबाट ३० किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा पर्ने मनहरी बजारबाट करिब ३.३ किलो मिटर उत्तरतिरको खोला किनारको बाटौ हुँदै पुग्न सकिन्छ ।

धमिराको गोलो जस्तै देखिने रातो माटोको चुच्चो परेको ढिस्कोहरु । शिर उठाएर आकाश पट्टी हेर्दा देखिने अग्ला–अग्ला रातो माटोकै चुचुरो । आदरणीय तारा डिम्डुङको फेसबुकमा भेटेको यस्तै दृश्यले तान्यो मेरो मन अनि मेरो पाईला अघि बढ्यो लालपार्क तफ । बाटो पहिल्याउन सहयोग गर्नु भयो, तारा डिम्डुङले।
प्रकृतीसंगको लुकामारीसंगै १० मिनेटमै लालपार्क पुगिन्छ । कुतसिङको सानो खोला कट्ने बित्तिकै आउने उकालो सुरुहुने बित्तिक्कै बाँयापट्टी देख्न सकिन्छ लाल पार्कको शिरको दृश्य । साँच्चै अनौठो दृश्यले मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । साँच्चै मन नै आनन्द तुल्याउने दृश्य अनि चिसो हावा र स्वच्छ वातावरण पनि ।
चारै तिर रातो माटोकै आकृती अनि बिचमा रहेको रातो रातो बालुवामा बगरिरहेको रातै देखिने बगिरहेको सानो पानी रातो माटाको चुचुरोको मुनी पुग्दा ढल्ला कि भन्ने डरले मन झस्काउँथ्यो । अहिलेसम्म नढलेर म आउँदामात्र किन ढल्थ्यो होला र भने मन मनै प्रश्न र उत्तरको क्रमसंगै अघि बढ्नुको मज्जा छुट्टै थियो ।
त्यहाँ पुग्दा कता–कता नेपाल भन्दाको बाहिराको ठाउँ होकी जस्तो अनुभव भएको थियो । नजिकबाट हेर्दाको भन्दाको आनन्द अलि दुरी बढाएर हेर्दा हुने रहेछ । अझ छेवैको अर्को ढिस्कोमा चढेर हेर्दा त स्वरुप नै झन मनमोहक हुने रहेछ । धेरै अधिदेखी नै यस्तो माटोको चुचुरो रहेको र अहिले पानीले माटो बगाउँदै जाँदा झन झन बढ्दै गएको स्थानियको भनाई छ ।












