९ दिनपछि रिना बस्नेतको भयाे दाहसंस्कार, आन्दोलनमा आफन्तको असन्तुष्टि

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन । बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।
आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए । झडपमा परेर तीन प्रहरी पनि घाइते भए । हत्यामा संलग्नलाई कारवाही हुनु पर्ने, शान्ति सुरक्षा कायम गर्नु पर्ने, महिला हिंसा बन्द गर्नु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना पनि दिए ।