टेलिकमको रोमिङ सेवा सञ्चालनमा, चीन-भारत जाँदा आफ्नै मोबाइलबाट कल गर्न सकिने

जनपत्र
१६ बैशाख २०७६, सोमबार ११:१७

१६ वैशाख, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्नेछन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्ने सुविधा पनि प्रयोगकर्ताले पाउने छन् । त्यसैगरी, सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए ।

‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ’, प्रवक्ता वैद्यले भने । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवा शुभारम्भ गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*