नेपाली क्रिकेटका सात ७ वर्ल्ड रेकर्ड

मेहबुब आलमको १० विकेट,एक ओभरमा ५ विकेट,शक्तिको किफायती बलिङ
जनपत्र
३० चैत्र २०७५, शनिबार १९:५१

लेखक सौरभको असहमतिमा दिइएको तथ्यका आधारमा भन्ने हो भने नेपालमा क्रिकेटको सुरुवात सन् १८७७ मा नै भएको हो ।

यसरी हेर्दा नेपालमा क्रिकेटको सुरुवात भएको झन्डै डेढ दशक भइसकेको छ । क्रिकेट खेलको विधिवत सुरुवात भने सन् १९४६ मा क्रिकेट एसोसिएसन अफ नेपालको गठनसँगै भएको हो ।

नेपालले एफिलिएट सदस्यका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को सदस्यता भने सन् १९८८ मा पाएको हो । १९९६ यता नेपाल आईसीसीको एसोसिएट सदस्यको हैसियतमा पुगेको छ । नेपाली क्रिकेटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता भने गत वर्ष १५ मार्च २०१८ बाट पाएको हो ।

त्यसयता नेपालले ६ वटा ओडीआई खेलको छ, तीमध्ये ३ मा विजयी भएको छ भने ३ मा पराजित भएको छ । विश्व ओडीआई वरीयतामा नेपाल अहिले १५औं स्थानमा छ ।

नेपाली क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने सन् १९९६ को एसीसी ट्रफी थियो । त्यसयता नेपाली क्रिकेटले विभिन्न प्रतियोगितामा सहभागिता जनाएको छ । जसमा नेपाली क्रिकेटले ७ वटा विश्व रेकर्ड बनाएको छ । रोहित पौडेल, सोमपाल कामी र सन्दिप जोराको रेकर्ड पछिल्लो समय चर्चामा छ । तर चर्चामा नरहेका रेकर्डहरूकाे बारेमा चर्चा गर्दैछाैं ।

मेहबुब आलमको १० विकेट
नेपालका मेहबुब आलम विश्वका यस्ता एक मात्र खेलाडी हुन्, जसले आईसीसी मान्यता प्राप्त अन्तर्राष्ट्रिय क्रिकेटका सबै १० विकेट एक्लै लिएका छन् ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबै विकेट लिने एक मात्र खेलाडीका रूपमा मेहबुबको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।

सन् २००८ को आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को जर्सीमा भएको खेलमा महबुबले माजाम्बिकविरुद्ध यो विश्व कीर्तिमान बनाएका थिए ।

एक ओभरमा ५ विकेट
नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको नाममा एक ओभरमा सर्वाधिक विकेट लिने विश्व रेकर्ड छ ।

रुविनाले सिंगापुरविरुद्ध एकै ओभरमा ५ विकेट लिएकी थिइन् । २००९ मा मलेसियामा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा रुविनाले यो कीर्तिमान बनाएकी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक विकेट लिने कीर्तिमान रुविनाको नाममा छ ।

शक्तिको किफायती बलिङ
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा किफायती बलिङ गर्ने विश्व रेकर्ड पनि नेपालको नाममा छ । नेपालका स्पिनर शक्ति गौचनले मलेसियाविरुद्ध यो कीर्तिमान कायम गरेका हुन् ।

शक्तिले खेलमा पुरै १० ओभर गर्दै आठ मेडनसहित २ रन दिएर ३ विकेट लिएका थिए ।

छिटो लक्ष्य
कुनै पनि खेलमा सबैभन्दा छिटो लक्ष्य पछ्याउने विश्व रेकर्ड पनि नेपालको नाममा छ । म्यानमारलाई १० रनमा अलआउट गरेर मात्र २ बलमा लक्ष्य भेट्टाउँदै नेपालले यो कीर्तिमान बनाएको हो ।

विश्वकपमा किफायती बलिङ
विश्वकप क्रिकेटमा सबैभन्दा किफायती बलिङ गर्ने रेकर्ड पनि नेपाली खेलाडीको नाममा छ । नेपाली स्पिनर राहुल विश्वकर्माले अन्डर १९ विश्वकपमा पुपुवा न्युगिनीविरुद्ध खेल्दै ३ रन दिएर ६ विकेट लिएका थिए, ०.४७ औसतमा ।

अन्डर नाइन्टिन विश्वकपमा उपाधि
अन्डर नाइन्टिन विश्वकपमा प्लेट च्याम्पियनसिप जित्ने नेपाल एक मात्र एसोसिएट राष्ट्र हो । श्रीलंकामा भएको सन् २००६ को अन्डर १९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराउँदै यो उपाधि जितेको हो ।

प्रतियोगिताको सेमिफाइनलमा नेपालले अर्को टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई पनि पराजित गरेको थियो । नेपालले पछिल्लो समय ब्लाइन्ड क्रिकेटमा पनि उपलब्धि हासिल गरेको छ ।

महिला ब्लाइन्ड टोली

नेपालले महिला ब्लाइन्ड क्रिकेट टिम भएको विश्वको पहिलो राष्ट्र भएर अर्को अनौठो कीर्तिमानसमेत राखेको छ । कुनै पनि टेस्ट राष्ट्रमा समेत महिला ब्लाइन्ड क्रिकेट टोली छैन ।

सिलापत्र अनलाईनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*