विपद कोषको पैसामा भीआईपी सरर

जनपत्र
२९ चैत्र २०७५, शुक्रबार १९:२४

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरु पनि पाएसम्म नेपाली सेनाको हेलिकोप्टर चढ्छन् । तर, सेनाको हवाई सेवा भीभीआईपीले भाडा वापतको १ करोड २७ लाख एक हजार रुपैयाँ तिरेका छैनन् ।

आर्थिक वर्ष ०७४/०७५ मा भएको भीभीआईपी उडानको मात्रै ७५ लाख १८ हजार रुपैयाँ उठ्न बाँकी छ ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार पछिल्लो आर्थिक वर्षको यो रकम ३ वटा निकायबाट भएको विमान चार्टरको भाडा हो । यसअघि हवाई सेवा सुरु भएको आर्थिक वर्ष ०४२/४३ देखि ०७२/०७४ सम्म ५१ लाख ८३ हजार रुपैयाँ रकम बक्यौता छ ।

यो रकम १८ वटा निकाय र संस्थाको हो ।

भीआईपी उडानतर्फ हुने वक्यौता रकमबारे महालेखा परीक्षकले वर्षेनी उल्लेख गर्ने गरेको छ । तर, रकम असुलीमा सुधार उल्लेख्य प्रयास र सुधार हुन सकेको छैन ।

‘कतिपय अवस्थामा निरन्तरता ताकेता नहुँदा त कतिपय अवस्थामा सम्बन्धी सरकारी निकाय वा व्यक्तिबाट वेवास्ता हुँदा बक्यौता बढी हुने गरेको छ’, एक सैनिक अधिकारीले भने, ‘कतिपय राजनीतिज्ञको हकमा उनीहरुले छुट मिलाइदिन पनि आग्रह गर्ने गरेका छन् ।’

प्रतिवेदनअनुसार मध्य एयरवेसतर्फ ०३४/०३५ सालदेखि ०७३/०७४ तर्फ ३ करोड ७ लाख ५९ हजार रुपैयाँ उठ्न बाँकी छ । यो रकम ४५ वटा निकायको वक्यौता हो । योसहित सैनिक हवाई सेवाको कुल बक्यौता रकम ४ करोड ३४ लाख ६० हजार हुन्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘बक्यौता रकममध्ये ५० प्रतिशतले हुने १ करोड ७९ लाख ७१ हजार रुपैयाँ सम्बन्धित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकोले राजस्व असुलीमा समेत असर परेको छ ।’

प्रतिवेदनमा बक्यौता रकम असुल गर्न थप पहल गरिनुपर्ने सुझाव दिइएको छ ।

अनलाईन खबरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*