केदार घिमिरे (माग्ने बुढा) : कसकाे नजरमा कस्ताे ?

जनपत्र
२९ चैत्र २०७५, शुक्रबार १०:५६

काठमाण्डौ – कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आज ४५ औं जन्मदिन मनाएका छन् ।

२०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनमा जन्मेका केदार अहिले सबैको प्रिय र सफल कलाकार हुन् । लामो समयको संघर्षपछि सबैको प्रिय कलाकार बनेका केदार कलाकारबीच पनि उत्तिकै प्रिय छन् ।

हास्यकलाकार मनोज गजुरेल केदार घिमिरेलाई हास्यव्यङ्ग्य क्षेत्रका एक अर्गानिक कलाकार मान्छन् । ‘उनी स्टेज र पर्दा भन्दा बाहिर पनि राम्रो ‘सेन्स अफ ह्युमर’ भएका व्यक्ति हुन् । आफ्नो क्षेत्रका सहयात्रीहरु र अग्रजहरु प्रति अत्यन्त सम्मान राख्ने आफूभन्दा जुनियरलाई प्रेम गर्ने  एक उदार कलाकार हुन्,’ गजुरेलले भने ।

विल्सनविक्रम राई (तक्मे बुढा) ले माग्ने बुढा तक्मे बुढाको जन्मदाता भएको बताए । उनी भन्छन्, ‘यदि माग्ने बुढा हुँदैनथ्यो भने तक्मे बुढाको जन्म असम्भव थियो । माग्नेबुढा थियो र तक्मे बुढालाई दर्शकले चिन्नुभयो । उहाँ नहुनु भएको भए सायद आज पनि म गाँउघरमा कुटो कोदालो मै रमाइरहेको हुन्थेँ ।’

विष्णु घिमिरे (हर्के हवल्दार) ले केदार घिमिरे र आफू एउटै जिल्लाका भएको बताउँदै उमेरका हिसाबले केदार कान्छो भए पनि कलाकारिताका हिसाबले केदार जेठो भएको बताए ।

मेरी बास्सैमा ‘मूलाको साग’ थेगोले परिचित सुरेन्द्र केसीले केदारका बारेमा भने, ‘म केदार घिमिरेलाई नजिकबाट चिन्दछु । दुःखमा परेकालाई साथ दिने, नजान्नेलाई सिकाउने, भएका कुरा बोल्न कहिले पनि नडराउने, एक असल व्यक्तिका रुपमा उनलाई चिन्दछु ।’

कलाकार तथा निर्माता निर्मल शर्मा (गैंडा) ले केदार घिमिरे नेपाली दर्शकले अत्यन्तै रुचाएका एक सर्वप्रिय कलाकारका रुपमा चिन्ने बताए ।

कुञ्जना घिमिरे (सुन्तली) ले केदार घिमिरे कामलाई पहिलो प्राथमिकतामा राख्ने मान्यता भएको कलाकार भएको बताइन् । ‘काम गर्ने जाँगर नभएका बेला हौसला प्रदान गरेर काम गर्न उत्साहित गर्ने, नेपाली कलाकारदेखि दर्शकसम्म सबैको एकदमै प्रिय हुनुहुन्छ’, उनले भनिन् ।

‘मेरी बास्सै’ की ‘मैया’ अर्थात् सुनिता गौतमले आफूलाई त धेरै दर्शकहरुले माग्ने बुढाकी मैया भनेर चिन्ने गरेकाे बताइन् । ‘आज उहाँ मेरी बास्सैमा त हुनुहुन्न तर प्रत्येक पलमा हामीले उहाँलाई मिस गर्ने गर्छौ’, उनले भनिन् ।

‘भद्रगोल’ का अर्जुन घिमिरे (पाँडे) ले केदार घिमिरे हास्य क्षेत्रका पछिल्लो पुस्ताका पिँढीहरुका लागि एउटा मार्गदर्शकको रुपमा भएको बताए । उनले भने, ‘उहाँबाट हामीले धेरै सिकेका छौँ र आगामी दिनमा पनि धेरै सिक्दै अघि बढ्ने छौ । मेरो नजरमा एकदम राम्रो कलाकार हुनुहुन्छ, केदार घिमिरे ।’

उज्यालोबाट समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*