आठौं राष्ट्रिय खेलकुद प्रतियाेगिताका खेलहरु आजदेखि शुरु
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियाेगिताका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन ५ वैशाखमा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस शुरु हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने गैरआवासीय नेपालीको सङ्गठन (एनआरएनए) टोली पनि पहिलोपटक सहभागी हुँदैछ ।प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ । आजदेखि शुरु हुने स्क्वासमा प्रदेश १, २, ३, ५, गण्डकी र नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र पाँच महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष/महिला सिङ्गल्स तथा पुरुष टोली इभेन्ट गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ । त्यसैगरी आजदेखि शुरु हुने हकी खेलमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । फाइनल खेल वैशाख ४ गते हुनेछ ।
आजैदेखि लङ्टेनिस पनि बुटवलमा शुरु हुँदैछ । लनटेनिसमा प्रदेश ३, गण्डकी, ५, आर्मी, एपिएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष, महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।
कपिलवस्तुमा आजैदेखि हुने कुस्ती खेलमा पुरुष/महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आर्मी र प्रहरी) गरी नौ टोलीले भाग लिने छन् । त्यसैगरी टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय ९आर्मी, प्रहरी रएपिएफ० बाट १२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी सात स्पर्धा समावेश छन् ।