‘लभ स्टेसन’ को सुखद ओपनिङ

जनपत्र
२४ चैत्र २०७५, आईतवार १३:४५

शुक्रवारबाट देशभरका करीब सय बढी हलहरुमा एकसाथ प्रदर्शनमा आएको अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले घरेलु बजारमा सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिबार झरीका कारण बिहानको सोजमा दर्शक उपस्थिति न्यून भए पनि दिउँसोबाट देशभर हाउसफुल रहेको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।
फिल्मले पहिलो दिनको तुलनामा शनिबार राम्रो व्यापार गरेको वितरक समेत रहेका शाही बताउँछन् । उनी भन्छन्, ‘गएको ६/७ महिनायता प्रदर्शनमा आएका फिल्मको भन्दा ‘लभ स्टेसन’ को ओपनिङ राम्रो छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ । हामी दर्शक प्रतिक्रिया र फिल्मको व्यापारबाट सन्तुष्ट छौं ।’ शनिबार फिल्म देशभर हाउसफुल रहेको उनको भनाई छ ।
शनिबार दिउँसो मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हलमा दर्शक भरिभराउ थिए । राजधानीका मल्टीप्लेक्सहरुले प्रदान गरेको सोजमा पनि दर्शकको उपस्थिति राम्रो थियो । शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, विएसआर, अष्टनारायणलगायतका हलमा पुगेर फिल्मका अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतले दर्शक प्रतिक्रिया बुझेका थिए ।
शनिबार हलमा अभिनेता प्रदीपको गजबको क्रेज देखिएको थियो । फिल्म हेर्ने प्रायः १८/२० वर्ष उमेर समुहका उनका ‘डाइहार्ट फ्यान’ देखिन्थे । हल पुग्दा उनीसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकहरुबीच घम्साघम्सी नै परेको थियो । दिउँसो अष्टनारायण हल पुग्दा प्रदीपलाई ‘दाई’ र जसितालाई ‘भाउजु’ भन्दै दर्शकहरुले नारा लगाएका थिए । प्रदीप फिल्मको व्यापार र दर्शक प्रतिक्रियाबाट खुसी देखिए ।
यो फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । करीब १ करोड ५० लाखको आसपासमा निर्माण भएको यो फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न बक्सअफिसमा ५ देखि ६ करोड छाप्नु पर्ने हुन्छ । अर्को हप्ता ठूला दुई फिल्म रिलिजका लागि तयार भएका कारण यसले यो हप्ताको कलेक्सनबाटै निर्माताको लगानी सुरक्षित गर्नुपर्ने हुन्छ । फिल्मले दुई दिनमा ६० लाख ग्रस कलेक्सन गरेको हुनसक्ने फिल्म पण्डितहरुको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*