हेटौंडा–१३ ठुलोथलीमा पाँच तले भ्युटावर निर्माण सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ ठुलोथलीमा पाँच तले भ्युटावर सहितको पार्क निर्माणको काम आजबाट सुरु भएको छ । भ्युटावर र पार्कको शिलान्यास गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस क्षेत्र पनि पर्यटकिय क्षेत्रको संभावना भएकाले यसलाई स्थानीय वासिन्दाले चासो लिएर काम गर्नुपर्ने वताउनुभयो ।
पाँच तले भ्यू टावरका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ छुट्याएको र आउँदा वर्षमा पनि बजेट छुट्याउँदै लगिने उहाँले वताउनुभयो । कुल ३ करोड ७५ लाख रुपैयाँ लागतमा भ्युटावर निर्माण गर्न लागिएको हो । बहुवर्षिय योजना अनुसार वषै पिच्छे लगानी गरेर टाओर र पार्क निर्माण गरिने मेयर महतले वताउनुभयो ।
यस क्षेत्रमा चिल्ड्रेन पार्क, पिकनिक स्पट सहितको पार्क निर्माण गर्नेगरी काम थालिएको मेयर महतले वताउनुभयो । यस क्षेत्रमा विभीन्न जनावरका मुर्ति निर्माण गर्ने र सजाउने तयारी पनि गरिएको हेटौंडा १३ का वडा अध्यक्ष मनोज वाइवाले वताउनुभयो । कार्यक्रममा हेटौंडा १२ का वडा अध्यक्ष ललित घलानको समेत सहभागिता रहेको थियो ।