प्रदेश २ मा एसईई परीक्षा स्थगित, विज्ञानको परीक्षा भने २२ गते नै हुने

जनपत्र
१६ चैत्र २०७५, शनिबार ०७:२७

काठमाडौं । संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा एसईई का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अरु प्रदेशमा भने परीक्षा जारी रहनेछ ।
बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । मन्त्री गिरिराजमणि पोखरेलले भने, स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्छौं ।’ उनका अनुसार बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो ।
मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए । आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भयो भने शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन । लगातार प्रश्नपत्र बाहिरिएपछि सबै प्रश्नपत्र बाहिरिएको आशंकामा अनुसन्धान भइरहेको छ । शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन । एसईईको प्रश्नपत्र माध्यमिक शिक्षा परिषद्ले तयार पार्छ र तीन वटा सुरक्षा घेरामा जनक शिक्षाको प्रेसमा छपाई हुन्छ । यसरी तयार भएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको करिव १५ दिन अगाडि जिल्ला प्रहरी कार्यालय लगेर सुरक्षित राखिन्छ ।
परीक्षा हुनुभन्दा तीन दिनअगाडि नजिकको प्रहरी चौकीमा लगेर राखिन्छ र परीक्षा हुनु एक घन्टा अगाडि मात्र केन्द्राध्यक्षले प्रश्नपत्र बुझ्छन् र सुरक्षा घेरामा लैजान्छन् । यतिधेरै सुरक्षाका बीच प्रश्नपत्र बाहिरिनु गम्भीर घटना हो । यसको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने विश्वास दिलाउन चाहन्छु’ मन्त्री पोखरेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*