अन्ततः ट्रम्प गले, मास्क लगाउन भए तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पनि मास्क प्रयोगका पक्षमा रहेको बताएका छन् । मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका ट्रम्पले अति भिड भएको ठाउँमा आफूले पनि मास्क लगाउने भन्दै आफू मास्कको पक्षमा रहेको बताएको बीबीसीले जनाएको छ ।
आफूले यसअघि पनि एक पटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताएको खबरमा उल्लेख छ । अमेरिकामा कोरोना सङ्क्रमणले तीव्र रुप लिइसक्दा समेत विज्ञहरुको सुझावसमेत नमानिरहेका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई कोरोना नियन्त्रणको लागि महत्त्वका साथ हेरिएको छ ।
उनले बिहीबार आफूले मास्क लगाउँदा लोन रेन्जर जस्तो देखिने बताएका छन् । लोन रेन्जर हलिवुड अभिनेता हुन्, जो आफ्नो आँखामा कालो रङ्गको मास्क लगाउने गर्थे । फक्स न्युजलाई दिएको एक अन्तर्वार्ताको क्रममा ट्रम्पले आफू मास्क लगाउनेको लागि तयार भएको बताए । मास्क लगाउनु राम्रो भएको उनले बताए । रिपब्लिकन सांसदले यसअघि राष्ट्रपतिले सार्वजनिक ठाउँमा मास्क लगाउँदा राम्रो सन्देश जाने सुझाव दिएको भोलिपल्ट ट्रम्पले यस्तो बताएका हुन् ।
यसअघि ट्रम्पले कमाण्डर इन चिफले कैयौँ राष्ट्र प्रमुखसँग भेट गर्नुपर्ने र मास्क लगाउनु अशोभनीय हुने बताएका थिए ।विश्वका सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेको अमेरिकामा २७ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३० हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा अहिलेसम्म एक करोड आठ लाख ४७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच लाख १९ हजार आठ सयभन्दा धेरेको ज्यान गइसकेको छ । ६० लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । एजेन्सी