त्यो देश जहाँ लाखौँले कोभिड–१९ को नाम सुनेकै छैनन् !
पूरै विश्व कोरोना भाइरस विरुद्ध लड्न संघर्ष गरिरहेका बेला यो एउटा देशमा चाहिँ कतिले कोभिडको नाम नै सुनेका छैनन् । म्यानमारको सुदरपश्चिमी क्षेत्र नजिक सेना र विद्रोबीचको हिंसात्मक लडाईँमा फसेका लाखौँ मानिसहरु एक वर्षदेखि इन्टरनेट विहिन अवस्थामा रहेको हुँदा उनीहरुलाई कोभिड–१९ का बारेमा केही थाहा नभएको कार्यकर्ताहरुको समूहले बताएको छ ।
यसरी कोरोना फैलन सुरु भएदेखि म्यानमार सरकारले सामाजिक दुरीको आवश्यकता लगायत रोग रोकथाम सम्बन्धी सूचनामूलक अभियान सुरु गरेको हो, तर संसदकी सदस्य हुट मेले आइतबार बताए अनुसार उत्तरी इलाकामा बस्ने धेरैले फेसबुक र सरकारको वेबसाइट मार्फत प्रचार गरिएका सार्वजानिक स्वास्थ्य जानकारीहरु पाउन सकिरहेका छैनन् ।
उनी भन्छिन्, “सुन्दा एकदमै अचम्म लाग्छ तर उनीहरुसँग कोभिड–१९ को कुरा गर्दा , मैले विश्व महामारीको रुप लिएको यो भाइरस बारे सुरुवातदेखि नै सबैकुरा बताउनुपर्यो र सामाजिक दुरी भनेको के हो र यसबाट बच्ने सरसफाइका उपायबारे समेत विस्तृतमा व्याख्या गर्नुपरेको हो । अवश्य पनि कोभिडकै कारण म धेरै यात्रा गर्न सकेको छैन जसकारण मैले सिमित मानिसहरुलाई मात्र चेतावनी दिन पाएको हुँ । ”
गत जुनमा मात्र काउन्सेलर आनसान सुकी द्वारा नेतृत्व म्यानमार सरकारले इन्टरनेटका कारण सेना र विद्रोहीहरु बीचको हिँसा झन बढ्दै गएको भनि सो क्षेत्रका नौवटा ‘टाउनशीप’ मा इन्टरनेट कटौति गराएको थियो । ती मध्ये एउटामा मे महिनापछि सेवा सञ्चालनमा आएको छ तर बाँकी आठ शहरका कूल ८ लाख मानिसहरु भने बिना इन्टरनेट बस्नु परिरहेको छ ।
यस्तोमा मानव अधिकार निरीक्षक र एम्नेस्टी इन्टरनेस्नलले उक्त अनलाइन प्रतिबन्धले विभिन्न रुपमा जीवन जोखिममा पारिरहेको भनि विरोध जनाएका हुन् । यसका कारणले विश्व महामारी कोरोना सम्बन्धी जारी सार्वजानिक स्वास्थ्य अभियानबाट लाखौँ मानिसहरु वञ्चित भएको र इन्टरनेटको अभावमा मानव अधिकार विरुद्धका घटनाबारे खबर गर्नमा पनि कठिनाइ भइरहेको तिनको भनाइ छ । सोमबार सम्म म्यानमारमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने २९२ संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६४,५३२ जनामा परीक्षण गरिएको छ । सिएनएन






