भारतले नेपाली भूमिमा बनाएको सडकमा यातायात सञ्चालन हुन नदिन मकवानपुरका सांसद खतिवडाको माग
हेटौंडा । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै सांसदहरूले त्यसलाई रोक्ने पहल थाल्न माग गरेका छन् ।
नेकपाका सांसद विरोध खतिवडाले उक्त क्षेत्र भएर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताएका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले भने, उक्त क्षेत्र भएर निर्माण गरिएको सडकमा भारतले रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको छ । वार्ता र कूटनीतिक कुरा हुँदै गर्छ, सरकारले त्यो सडकमा यातायात सञ्चालनमा रोक लगाउन माग गर्दछु ।
त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उनको भनाइ थियो । नेकपाका सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेर प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियताको पक्षमा मुलुक एकजुट रहेको सन्देश दिएको बताएका छन् । नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद सरिताकुमारी गिरीलगायतले कांग्रेसको निर्णयको स्वागत गरेका छन् । गिरीले भारतसँगको सीमामा तारबार लगाउन पनि माग गरिन् । कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
नेपालको अद्यावधिक नक्साअनुसार निसान छाप संशोधन गर्ने विधेयक आज प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको छ । भारतीय अतिक्रमणमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरिएपछि उक्त नक्सा जारी भएको थियो ।






