लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिटै फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्याउनुभएको छ ।
प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय अब ओझेलमा पार्न नदिने भन्दै उहाँले हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको बताउनुभयो ।
उहाँले अब छिटै नेपालको त्यो भूमि फिर्ता ल्याउने बताउनुभयो । यसको लागि कुटनीतिक छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । यो तथाकथित राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन, यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’
संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने बताउनुभयो ।






