‘सेन्टी भाइरस’ गीतमा सन्दिप र विल्सनको घम्साघम्सी (भिडियो)
यही फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा प्रमोद खरेल र विद्या मञ्जु तिवारीको संयुक्त गायन रहेको छ भने हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत छ ।
दीपक आचार्यको निर्देशन, चन्दन दत्तको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, पुष्पा आचार्य, मधुसुदन पाठक, सञ्जु शाह र एलिस राईलगायत फिचर्ड छन् । भिडियोमा दुई फरक पार्टीका नेता तथा कार्यकर्ताबीचको घम्साघम्सी देखाइएको छ ।







