‘सेल्फी किङ’ प्रिमियरमा विपिनको अभिनयको तारिफ

जनपत्र
२४ माघ २०७६, शुक्रबार ०७:००

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ले प्रिमियरमा नेपाली सेलिब्रेटीहरुबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधवार राजधानीको नयाँ बस पार्कमा सञ्चालनमा आएको आइएनआइ सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीहरुले अभिनेता विपिन कार्कीको अभिनयको मुक्तकण्डले प्रशंसा गरे ।

फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निशा अधिकारी, विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, आर्यन सिग्देल, कर्मा शाक्य, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दीपेन्द्र के। खनाल, रीमा विश्वकर्मा, केकी अधिकारीलगायत पुगेका थिए । फिल्म हेरेर निस्किँदै गर्दा प्रायः फिल्मकर्मीको आँखा रसाएका थिए । फिल्मको अन्तिम ३० मिनेट बुलन्द रहेको भन्दै सबैले विपिनको अभिनयको प्रशसा गरे ।
अभिनेता आर्यन सिग्देलले फिल्म राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । ‘फिल्ममा हाँसो र रोदनको मिश्रण छ’, उनले भने । उनले फिल्मको कथावस्तुले कलाकारितामा लागेका व्यक्तिलाई बढी छुने बताए । अभिनेत्री नम्रतालाई पनि फिल्म ज्यादै मन परेछ । फिल्मले कलाकारको मर्मलाई बोकेको र त्यसलाई विपिनको अभिनयले जीवन्त बनाएको उनले बताइन् ।

त्यस्तै, अभिनेता कर्माले धेरैपछि फिल्म हेरेर रोएको बताए । ‘कलाकारलाई हेर्ने दृष्टिकोण र व्यक्तिगत जीवनमा सामना गर्नुपर्ने कुरालाई फिल्ममा राम्रोसँग देखाइएको छ’, उनले अगाडि भने, ‘फिल्मले मनोरञ्जनसँगै यथार्थलाई दर्शाएको छ ।’ फिल्मको ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी अभिनेत्री केकी अधिकारीले फिल्मको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरिन् ।
‘फिल्मले कलाकारलाई मात्र होइन, जुनसुकै पेशामा आबद्ध व्यक्तिलाई पनि छुनसक्छ । म कलाकार भएकोले यसले अझै बढी छोयो । फिल्ममा कलाकारको मनोभाव, मनोदशा र मनोविज्ञानलाई मनछुने ढंगबाट देखाइएको छ,’ केकीले भनिन् । अभिनेत्री द्वय निशा र रीमाले पनि फिल्मको प्रशंसा गरे । त्यस्तै, निर्देशक दीपेन्द्र के। खनालले फिल्म राम्रो र सरल बनेको प्रतिक्रिया दिए ।

कस्तो छ ‘सेल्फी किङ’ ?

विपिन ‘सेल्फी किङ’ का मेरुदण्ड हुन् । उनले फिल्म नै आफ्नो काँधमा बोकेका छन् । फिल्ममा उनले ‘सेल्फी किङ’ नामक टेलिभिजन श्रृंखलामा अभिनय गर्ने हास्यकलाकारको भूमिका निभाएका छन् । जीवन र मृत्यसँग लडिरहेका पितालाई अस्पतालमा छाडेर एक कार्यक्रममा दर्शक हँसाउन सोलुखुम्बु जाँदा विपिनको जीवनमा आउने आरोह(अवरोहमा फिल्म केन्द्रित छ ।

फिल्म मध्यान्तर अघिसम्म सुस्त छ । काठमाडौंबाट सल्लेरीसम्म विपिनले गर्ने यात्राका दृश्यहरु यति लम्बेतान छन् कि दर्शक झिँजो मान्छन् । विपिनलाई हास्यकलाकारको रुपमा स्थापित गर्न निर्देशक विशाल सापकोटाले आवश्यकभन्दा धेरै दृश्य खर्चेका छन् । सल्लेरीको एक होटलमा मदिरा सेवन गरेपछि आयोजकसँग विपिनको चलेको जुहारीको दृश्य झन् पट्यारलाग्दो छ ।

मध्यान्तरपछि फिल्मले आफ्नो गति समातेको छ । विपिन काठमाडौंबाट सोलुखुम्बु जाँदाका दृश्य पट्यारलाग्दो भए पनि पितालाई सम्झँदै उनी काठमाडौं फर्किँदाको दृश्यले भने मन छुन्छ । फिल्ममा समावेश ‘जिन्दगीको के छ’ र भर’ र ‘जाली रुमाल’ गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको छ । तपाईंहरु विपिनको अभिनयको प्रशंसक हुनुहुन्छ भने यो फिल्म अवश्य हेर्नुहोला ।

फिल्ममा छोटो भूमिका भए पनि अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय स्वभाविक लाग्छ । उनले फिल्ममा विपिनको श्रीमतीको भूमिका निर्वाहा गरेकी छन् । विपिनकी आमाको भूमिकामा रहेकी बरिष्ठ अभिनेत्री भुवन चन्दसँगै अन्य कलाकारले पनि राम्रो अभिनय पस्किएका छन् । फिल्मको अर्को बलियो पक्ष भनेको छायांकन हो । सुशन प्रजापतिको छायांकन शील्प लोभलाग्दो छ । फिल्मी खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*