नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन ।
नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो ।
प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।
प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गाे लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गाे लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राख्नुभएकाे थियाे । मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गाे लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो ।
सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो ।
यस्तै बैठकमा एमसीसीका बारेमा छलफल हुने भनिएको भए पनि यो विषयमा पनि छलफल नभएको उहाँले जानकारी दिनुभयो । एमसीसीको बारेमा पार्टीको स्थायी कमिटी बैठकले यस अघि निर्णय गरे अनुसार नै सचिवालय बैठकमा पनि निर्णय हुने पौडेलले बताउनुभयो ।
प्रदेश नम्बर ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने बताउनुभयो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ।
उक्त निर्णयलाई सार्वजनिक भने गरिएको छैन। पार्टी सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको जानकारी आफूले पाएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
‘पुस २० गते अघि नै संसद बस्छ। संसदबाटै नाम र राजधानी टुंगो लगाउँछौं,’ उनले भने, ‘अब ढिला हुँदैन।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो। त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो।
सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्। प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।
राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।