‘बिजनेस’विहीन प्रदेशसभा, ४४ विधेयक प्रमाणीकरण

सरिता दाहाल
३ पुष २०७६, बिहीबार १२:०८

तीन महिना बित्दासम्म प्रदेशसभाको बैठक नबसेपछि प्रदेशसभाका लागि सरकारले कुनै पनि ‘बिजनेस’ दिन सकेको छैन।

‘हामीसँग भएका सबै विधेयक पारित भइसकेका छन्। ४४ वटा प्रमाणीकरण भइसके, एउटा प्रमाणीकरणको क्रममा छ,’ प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले भने, ‘अहिले प्रदेशसभामा सरकारको तर्फबाट कुनै पनि विधेयक दर्ता भएको छैन।’

उनका अनुसार अहिले संसदीय समितिको बैठक नियमित चलिरहेको छ। समितिले सरकारको काम कारबाहीको विषयमा समीक्षा गर्दै निर्देशन दिने काम गरिरहेकोले नियमित संसद् चल्नैपर्ने अवस्था नरहेको सभामुख श्रेष्ठले बताए। प्रदेशसभामा ५ वटा विषयगत समिति रहेका छन्।

अबको अधिवेशनले राजधानीको विषय जसरी पनि टुङ्‍गो लगाउने उनको भनाइ छ। ‘प्रदेशसभाको अब चल्ने हिउँदे अधिवेशनले राजधानी र प्रदेशको नाम टुङ्‍गो लगाउनेछ,’ उनले भने, ‘हामीले यसका लागि कार्यविधि पास गरिसकेका छौं। सरकारले पनि यसको तयारी गरिरहेको छ।’

प्रदेशको गठन हुँदा प्रदेशसभाबाट पारित गर्नुपर्ने ९९ वटा कानुन पहिचान गरी अगाडि बढेको सरकारले अहिले ती मध्ये १७ वटा कानुन घटेका छन्। प्रदेशअन्तर्गत बनेको र बन्न बाँकी ऐनको पहिचान गर्न प्रदेश ३ का मुख्य महान्यायाधिवक्ता ओमप्रसाद थपलियाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार प्रदेशसभाले बनाउनुपर्ने कानुनको सङ्ख्या ९९ बाट घटेर ८२ वटा मात्रै कायम गरिएको हो। बजेट अधिवेशनसम्म पारित गरिएका ४४ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। त्यसपछि प्रदेशसभा सञ्चालन नहुँदा सरकारले कुनै पनि विधेयक दर्ता गराएको छैन।

चार वटा अधिवेशनमा प्रदेशसभामा १ सय २७ वटा बैठक बसेका थिए। प्रदेशसभाले हालसम्म पास गरेका ४५ मध्ये ४४ वटा विधेयक प्रमाणिकरण भइसकेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए। प्रदेशसभा नियमावली पनि संशोधन भइसकेको उनले बताए। नेपाल न्युजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*