बागलुङ जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

जनपत्र
२२ मंसिर २०७६, आईतवार ०७:४०

बाग्लुङको बडिगाढ गाउँपालिका ७ अल्छीबाङमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। मंगलबार भएको दुर्घटनामा परि घाइते भएकी इस्मा गाउँपालिका ४ दोहोलीका २४ वर्षीया निमा केसीको उपचारका क्रममा शनिबार निधन भएपछि ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।
निमालाई उपचारका लागि मंलबार नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनीसँगै घाइते भएका चार वर्षीय हिमाल कार्की र नवलपरासी वर्दघाट नगरपालिका-२ का २२ वर्षीय जीवन कार्कीको भने उपचार भइरहेको छ। गुल्मीको इस्मा गाउँपालिका-४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग। १ ज ५२१९ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको हो।
दुर्घटनामा परि १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जसमध्ये इस्मा गाउँपालिका ४ दोहोलीका ६५ वर्षीय धनबहादुर कार्कीको शव घटनास्थलभन्दा करिब दुई किलोमिटर तल नदीको किनारमा अर्को दिन भेटिएको थियो। दुर्घटनामा परेकामध्ये १० जनाको सोही दिन नै इस्मा गाउँपालिका ५ रजस्थल हुलाकेमा सामूहिक दाहसंस्कार गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*