राष्ट्रिय कीर्तिमान बनाएकी धाविका साग छाडेर रोजगारको लागि कतार

चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३औं दक्षिण एसियाली खेलकुद ९साग० छाडेर विदेशिएकी छिन्। घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई झुक्याएर नेपाली सेनाकी धाविका खत्री कतार गएकी हुन्।
सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा। अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो।
एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने भनी बुधबार बेलुकी सन्देश पठाएकी थिइन्। मन्दिर जाने भन्दै सन्देश पठाएकी खत्री बिहीबार दिउँसोसम्म सम्पर्कमा नआएपछि प्रशिक्षक गुरुङले सोधपुछ थालेका थिए। त्यसपछि उनी कतार गएको अन्य खेलाडीले जानकारी दिएको गुरुङले बताए। बिहीबार राष्ट्रिय खेलकुद परिषद्लाई मौखिक जानकारी दिएका प्रशिक्षक गुरुङले शुक्रबार भने लिखित रुपमा नै पत्राचार गरेका छन्।
त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्। उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले यसबारे जानकारी पाएको जनाए। ‘तुलसा भागेको जानकारी हामीलाई प्राप्त भइसकेको छ’, उनले भने, ‘मैले पनि यस विषयमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिलाई जानकारी गराएको छु।’