मापसे’ चेक गर्ने असई नै रक्सीले झ्याप !

मापसे ‘मादक पदार्थ सेवन’ गरेर ड्युटी गरिरहेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक ‘असई’ माथि कारबाही प्रक्रिया अघि बढेको छ । विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत असई ताराबहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो ।
ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेक गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ ।
विराटनगर महानगरपालिका–४ खारजीमा बिहीबार राति मापसे चेकमा खटिएका असई बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो ।
कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ । डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताउनुभयो ।