‘छोरी जन्मिए बैंक खाता’कार्यक्रम लागू
दैलेखको भैरवी गाउँपालिकाले ‘छोरी जन्मिए बैंक खाता’ खोली प्रत्येक वर्ष १ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम शुरू गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक वर्ष रू। १ हजारका दरमा रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको थियो ।
कार्यक्रमका लागि गाउँपालिकाले रू। ३ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका–५ की ममता थापाले आफ्नी छोरी अनीताको नाममा गाउँपालिकाले बैंक खाता खोलेर हजार रुपैयाँ जम्मा गरिदिएको बताइन् । उनी मात्र नभई चालू आर्थिक वर्षदेखि गाउँपालिकाभित्र जन्मिएका बालिकाको नाममा यहाँस्थित ‘सिभिल बैंक’मा खाता खोल्न शुरू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
यो कार्यक्रममा सहभागी हुनका लागि स्वास्थ्यचौकीमै सुत्केरी भएको र बच्चा जन्माउने उमेर २० वर्ष पूरा हुनुपर्ने छ । ‘उमेर नपुगी विवाह गरी बच्चा जन्मएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेलाई यो कार्यक्रममा समावेश गरिने छैन,’ गाउँपालिका अध्यक्ष प्रेम बुढाले बताए ।
सानै उमेरमा विवाह गर्ने, बच्चा जन्मिने र पछि उनीहरूमा विभिन्न समस्या आइपर्ने हुनाले गाउँपालिकाले ‘छोरी प्रोत्साहन’ कार्यक्रम मार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको उनले जानकारी दिए । यो खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन पनि मद्दत पुग्ने अपेक्षा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटाले बताए ।
आमा वा बुबा संरक्षण रहने गरी छोरीको नाममा बैंक खाता खोल्ने गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गत साउनमा कर्णाली प्रदेश सरकारले पनि यस्तो नीति ल्याएको छ । प्रदेश सरकारले खाता खोली १ हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महीना ५ सय जम्मा गरिदिने बताएको छ । प्रदेश सरकारले यो कार्यक्रमका लागि रू। ७ करोड रकम विनियोजन गरेको छ ।