कस्तो छ रानीको ‘मर्दानी २’ ट्रेलर ?

बलिउड अभिनेत्री रानी मुखर्जीको मोस्ट अवेटेड एक्सन थ्रिलर फिल्म ‘मर्दानी २’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा एकपटक फेरि अभिनेत्री रानी एक निडर पुलिस अफिसरको भूमिकामा छिन् । यो ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मर्दानी’ को सिक्वेल हो । जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।
यो फिल्मको पहिलो श्रृंखला प्रदीप सरकारले निर्देशन गरेका थिए । दोस्रो पार्टको निर्देशन गोपी पुथरेनले गरेका हुन् । फिल्मको ट्रेलरमा रानी मुखर्जीलाई जबरजस्त अन्दाजमा देख्न सकिन्छ । बलात्कारको घटनामाथि आधारित भएर निर्माण भएको ‘मर्दानी २’ अर्को महिनाको १३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको निर्माण यशराज फिल्मस्ले गरेको हो ।
फिल्म एक सिरियल किलर र रेपिस्टको वरिपरि घुमेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा केही यस्ता सिन छन्, जसले आङ सिरिङ्ग बनाउँछ । रानीको एक्सन अवतार एकपटक फेरि जबरजस्त देखिएको छ । ट्रेलरलाई युट्युबमा निकै राम्रो प्रतिक्रिया मिलेको छ । ‘मर्दानी २’ लाई ट्रेलरबाटै सुपरहिटको ट्याग दिन थालिएको छ ।
रानी मुखर्जीका श्रीमान् आदित्य चोपडाले फिल्मको निर्माण गरेका हुन् । एक समय लभस्टोरी फिल्ममा निकै डिमान्डेड अभिनेत्री रानी अहिले कन्टेन्टमाथि काम गर्न थालेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘हिचकी’ हो । जुन गएको वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले बक्सअफिसमा राम्रो व्यापार नगरे पनि दर्शकले रुचाएका छन् ।
ट्रेलर हेर्नुहोस् :