कांग्रेसका पुराना नेता आचार्यद्वारा पार्टी परित्याग

जनपत्र
३० चैत्र २०८२, सोमबार १५:४८

मकवानपुर । नेपाली काँग्रेस का पुराना कार्यकर्ता हयग्रीव आचार्यले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

हेटौंडा–५ निवासी आचार्यले  चैत ३० गते जिल्ला कार्यसमिति मकवानपुरमार्फत पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।

२०३८ सालदेखि बीपीको प्रजातान्त्रिक समाजवादबाट प्रेरित हुँदै राजनीतिमा सक्रिय आचार्य २०४६ सालमा पार्टीको साधारण सदस्य र २०५२ सालमा क्रियाशील सदस्य बनेका थिए। उनले पार्टीका विभिन्न दस्तावेज निर्माण, शिक्षा, साहित्य, मानवअधिकार तथा सहकारी क्षेत्रमार्फत प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको संरक्षण र संवर्द्धनमा योगदान दिँदै आएका थिए।

राजीनामा पत्रमा उनले पछिल्ला वर्षहरूमा पार्टीले लिएको नीति तथा गतिविधि देश र जनताको हितविपरीत हुँदै गएको उल्लेख गरेका छन्। आफ्ना विचार र पार्टीको वर्तमान कार्यदिशाबीच गम्भीर असमानता उत्पन्न भएकाले आफूले पार्टी परित्याग गर्ने निर्णय लिएको उनको भनाइ छ।

आचार्यले “आजकै मितिबाट लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने” घोषणा गर्दै आफ्नो लामो राजनीतिक यात्रा यहीँ अन्त्य गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*