मेस्सीले बनाए कीर्तिमान, बार्सिलोनाले जित्यो

लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएको खेलमा बार्सिलोनाले जित निकालेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एफमा रहेको बार्सिलोनाले स्लाभिया प्रागसँग बुधबार राति भएको खेलमा २–१ को जित निकालेको हो ।
यो खेलमा गोल गरेका मेस्सी च्याम्पियन्स लिगका लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ५० औँ मिनेटमा बोरिलले प्रागका लागि बराबरी गोल गरे । तर ५७ औँ मिनेटम प्रागका लागि घातक बन्यो । चेक गणतन्त्रको च्याम्पियन प्रागका ओलायिन्काले ५७ मिनेटमा आत्मघाती गोल गरे । सोही गोलका कारण बार्सिलोना विजयी भयो ।
ला लागिमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा जित निकालेको छ । जितपछि बार्सिलोना समूह एफ को शीर्ष स्थानमा पुगेको छ तीन खेलबाट सात अंकसहित । सोही समूहको अर्को खेलमा इन्टर मिलानले बोरुसिया डर्टमुण्डलाई २–० ले पराजित गरेको छ । दोस्रो स्थानको इन्टर मिलानको चार तथा तेस्रो स्थानको डर्टमुण्डको पनि चार अंक नै छ ।
च्याम्पियन्स लिगका लगातार १५ सिजनमा गोल गरेका मेस्सी समग्रमा धेरै सिजनमा गोल गर्ने कीर्तिमानबाट भने पछि नै छ । रायन गिग्सले १६ वटा सिजनमा गोल गरेका थिए ।