मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा भएका दुई फरक सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
आज हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडस्थित वाईपास सडकखण्डमा भएको हो। बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको थियो। ठक्करपछि हात्तीगाडी घटनास्थलबाट भागेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हात्तीगाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका चालक बारा अमलेखगञ्ज निवासी करिब २० वर्षीय शेरचन बलाइ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक हेटौंडा–५ शान्तिनगर निवासी १८ वर्षीय क्षितिज रायमाझीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा अपराह्न चिकित्सकले मृत घोषणा गरेका हुन्। स्कुटरमा पछाडि सवार हेटौंडा–७ निवासी १९ वर्षीय संगम झा भने हातखुट्टामा चोट लागी मध्यम अवस्थामा रहेका छन् र उनको मकवानपुर अस्पतालमा उपचार भइरहेको छ। हात्तीगाडी प्रहरीको नियन्त्रणमा रहेको छ।
यसैगरी, हेटौंडा उपमहानगरपालिका–८ कर्रा पुल नजिक पूर्व–पश्चिम सडकखण्डमा भएको सवारी दुर्घटनाका घाइतेको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । रौतहटबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ च १५६५ नम्बरको यौद्धा पिकअप गाडीले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा कार्यरत निर्वाचन प्रहरी रौतहट फतुवा विजयपुर नगरपालिका–७ निवासी २४ वर्षीय पवन साह घाइते भएका थिए।
घाइते साहको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप गाडी र चालक रौतहट चन्द्रपुर नगरपालिका–८ निवासी २५ वर्षीय अर्जुन चौधरी प्रहरी नियन्त्रणमा रहेका छन्।






