हेटौंडामा रवि लामिछानेको चुनावी सभाः अवको पाँच वर्ष स्थायी सरकार चलाउने उद्घोष
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई कानूनी राज्यका रूपमा स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। सरकार गठन भएमा २०४६ सालपछि भएका सबै प्रमुख काण्डहरूको छानबिन गरिने उनले उल्लेख गरे।
लामिछानेले अब आम जनताले आफ्नै हातले इतिहास रच्ने समय आएको भन्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न र प्राप्त मतपरिणामलाई स्वीकार गर्न सबैसँग आग्रह गरे। उनले निर्वाचन सार्न विभिन्न बहाना खोजिएको आरोप लगाउँदै कुनै न कुनै निहुँ बनाएर चुनाव स्थगित गर्ने प्रयास भइरहेको बताए।
‘देशमा भएका ठूला भष्ट्राचारहरूको फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसकारण निर्णय र फैसला गर्ने दिन फागुन २१ गते नै हो। तपाईंहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्ने हो। रास्वपा सरकारले निष्पक्ष रुपमा छानबिन गर्छ।’
जेन–जी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसा अकाट्य प्रमाण भएको उल्लेख गर्दै त्यसको स्रोत खोज्न अनुसन्धान आवश्यक हुने बताए।
‘रास्वपाले प्रतिशोध गर्दैन, तर कानुनी राज्य स्थापना गर्छ,’ उनले थपे, ‘त्यो पैसाको स्रोत के हो? त्यो खोज्नका लागि अनुसन्धान चाहिन्छ। तर त्यो पैसा जलेको कुरा एआई होइन। सत्य हो। त्यो अकाट्य प्रमाण हो। कुनै अनुसन्धानको आवश्यकता पर्दैन। रास्वपाको सरकार बन्न दिनोस् हामी छानबिन गर्छौँ।’
उनले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गर्दै विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने बताए।
कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले वर्तमान निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली को धरौटी समेत जफत हुने दाबी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी कुशासनविरुद्ध दृढ रूपमा उभिएको बताए।
सभामा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर–२ का उम्मेदवार प्रशान्त उप्रेतीले आफूहरूलाई मतदान गरेमा स्थानीय नागरिकका विभिन्न समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको बताए।







