मतदाता भेट्दै, कुरा सुन्दै र आफ्नो विचार राख्दै राप्रपाका उम्मेदवार थोकर
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ को चुनावी मैदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रत्यक्षतर्फका उम्मेदवार रामबहादुर थोकर आफ्नो क्षेत्रका मतदातालाई दैनिकजसो भेटिरहेका छन् । उनी मतदाताका घर, गाउँटोल र सार्वजनिक स्थलमा पुगेर नागरिकहरुसँग भेटघाट र प्रत्यक्ष संवाद गरिरहेका छन् । उम्मेदवार थोकर मनहरीको खैराङ, रजैया, डिल्लीपुर र चैनपुर जस्ता क्षेत्रका बासिन्दासँगको भेटघाट गर्दै मतदाताको चासो बुझ्दै आफ्नो राजनीतिक विचार व्यक्त गरेका छन् ।
थोकरले मतदातासँगको संवादमा आफ्नो राजनीतिक दर्शन र प्रतिबद्धतालाई स्पष्ट रुपमा राखेका छन् । ‘हामी राष्ट्र र धर्मको संरक्षणका पक्षधर हौँ । यो चुनाव केवल पदका लागि होइन, राष्ट्रियता जगेर्ना गर्ने अवसर हो । मेरा मतदातासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको आवश्यकतासँग आफूलाई जोड्न चाहन्छु ।’ उनको भनाई छ ।
उनले आफ्नो चुनावी प्रचार अभियानमा पार्टीको मूल सन्देश ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ लाई जोड दिएका छन् । थोकर भन्छन्,‘हामी दीर्घकालीन दृष्टिले हाम्रो संस्कृति र धार्मिक मूल्यको रक्षा गर्नुपर्छ । यही कारणले मैले राप्रपा मार्फत उम्मेदवारी दिएका हुँ । हरेक मतदाता हाम्रो राष्ट्रियताको सुरक्षामा भागीदार बन्नुपर्छ ।’
गाउँघरमा पुग्दा मतदाताको उत्साह र जिज्ञासासँग उनले प्रत्यक्ष संवाद गर्दै आएका छन् । ‘हामी हरेक घरमा पुग्छौं, प्रत्येक मतदातासँग कुरा गर्छौं, उनीहरुको आवश्यकता सुन्छौं । उनीहरुले दिएका सुझाव र समस्यालाई हामी संसदमा लैजान प्रतिबद्ध छौँ ।’ उनको भनाई छ ।
थोकरका अनुसार यो अभियान केवल प्रचार प्रसारमा सीमित छैन की स्थानीय बासिन्दासँगको प्रत्यक्ष सम्बन्ध निर्माणमा केन्द्रित छ । ‘मतदाता ।सँग प्रत्यक्ष भेटघाट, गाउँ–टोलमा संवाद र उनीहरुको कुरा सुन्नु नै हाम्रो अभियानको मूल आधार हो ।’ थोकर भन्छन् ‘यसले विश्वास र समझदारी बढाउँछ, जुन चुनावी प्रक्रिया मात्र नभई दीर्घकालीन लोकतान्त्रिक अभ्यासको लागि पनि जरुरी छ ।’
उम्मेदवार थोकरले मतदातालाई विश्वास दिलाउँदै भनेका छन्,‘मेरो लक्ष्य केवल चुनाव जित्नु मात्र होइन । म चाहन्छु हरेक बासिन्दाको आवाज संसदसम्म पुगोस, उनीहरुको समस्या समाधान होस् र हाम्रो क्षेत्रको विकास सुनिश्चित होस् । राष्ट्रियता, धर्म र समाजको हितका लागि हामीले मिलेर काम गर्नुपर्छ ।’
थोकरका अनुसार उनको यो अभियानले मतदातामा नयाँ ऊर्जा र उत्साह थपेको छ । गाउँ–टोलको बस्तीमा उनको उपस्थितिले राजनीतिक संवाद मात्र नभई सामाजिक सम्बन्ध र विश्वासको पुल पनि निर्माण गरेको छ । यसरी प्रत्यक्ष संवादमार्फत उनी मतदाता मन जित्ने र राष्ट्रियताको महत्व बुझाउने प्रयासमा जुटेका छन् ।







