बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ, सरकारी निवासबाटै प्रहरीले समात्यो

बलात्कार र महिला हिंसाबारे अनुसन्धान गरिने !
जनपत्र
१९ आश्विन २०७६, आईतवार १८:३०

काठमाण्डाै – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट महरालाई पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी सभामुख निवास वालुवाटार पुगेका थिए ।

कर्मचारी रोशनी शाहीले गएकाे शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधी‍श ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । पीडित भनिएकी कर्मचारी रोशनी शाहीको यसअघि नै स्वास्थ्य परिक्षण गरिसकिएको छ भने घटनास्थलमा भेटिएका सामग्रीको परीक्षण गर्न फरेन्सिक ल्याब लगिएको प्रहरीले जनाएको छ ।

महरालाई पक्राउपछि बलात्कार र महिला हिंसाबारे अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ ।

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौं प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो ।

शुक्रबार बेलुका उहाँले महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दिनुभएको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।

कहिले के भयो ?

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ ।

आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना बाहिर आयो ।

महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला अनलाइनखबरसँग कुरा गर्दै महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो ।

तर घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*