हेटौंडाको धुलो दूध कारखाना र तरकारी थोक बजारको संसदीय समितिद्वारा अनुगमन

जनपत्र
१७ भाद्र २०८२, मंगलवार २०:०५

हेटौंडा । बागमती प्रदेश सरकारले निर्माण गरेको हेटौंडाको धुलो दूध कारखाना र तरकारी थोक बजारको संसदीय समितिद्वारा अनुगमन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० सिसौघारीमा निर्माण भएको धुलो दूध कारखाना र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभरयाङमा निर्माण गरिएको प्रादेशीक कृषि थोक बजारको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, समितिका अर्का सदस्य तथा प्रदेश सभाका सदस्य धनेश्वरी प्रजापति र अर्का प्रदेश सभाका सदस्य उर्मिला सुनुवारले दुइ स्थानको अनुगमन गर्नु भएको हो ।

दुइ वटा संरचना निर्माण गर्नका लागि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करोडौ रुपैयाँ लगानी गरेको तर, त्यस अनुसार कार्यान्वयन भने नभएको जनगुनासोपछी सांसदहरुको टोलिले अनुगमन गरेको छ । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा अनुगमन गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दुग्ध विकास बोर्डले धुलो दूध कारखाना निर्माण गरेको हो भने मन्त्रालय अन्तरगतकै कृषि विकास निर्देशनालय हेटौंडाले प्रादेशिक कृषि थोक बजारको निर्माण गरेको हो । दुइ वटै संरचना निर्माण गर्नका लागि बागमती प्रदेश सरकारको ८६ करोड रुपैयाँ भन्दा धेरै रकम खर्च भएको छ । त्यस अनुसार कार्यान्वयनमा नआएकोमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आपत्ति जनाउनुभयो ।

प्रदेश सरकारले करोडौ रुपैयाँ लगानी गर्ने तर, सञ्चालनका लागि मोडालीटि तयार नगर्दा यस्ता संरचनाहरु खण्डहर बन्दै गएकोमा आपत्ति जनाउँदै भन्नुभयो–‘सरकारले गरेका लगानी खेर जनो तर, किसानले दूध बिक्री गरेर पनि पैसा नपाउने समस्या छ । यस्तो समस्यालाई समाधान गर्नका लागि पनि यो धुलो दूध कारखाना छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारलाई आग्रह गर्दछु । यस विषयमा धेरै नागरिकको जनगुनासो र समस्या समेत भएकाले यसमा गर्नुपर्ने काम गरेर पाउडर प्लान्ट सञ्चालनका लागि मोडालिटी तयार गरेर काम गर्नु जरुरी छ ।’

अनुगमनका क्रममा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सदस्य तथा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापतिले प्रदेश सरकारको करोडौ रुपैयाँ लागतमा निर्माण गरिएका यस्ता संरचनाको छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । संरचना निर्माण गर्दा ठुलो सोच राखिएको र त्यसको कार्यान्यन पनि दु्रतगतिमा हुनुपर्ने बताउनुभयो ।

अनुगमनका क्रममा बागमती प्रदेशसभाका सदस्य उर्मिला सुनुवारले प्रदेश सरकारले निर्माण गरेको धुलो दूध कारखाना सञ्चालनमा ल्याएमा धेरै किसानको दूधलाई पाउडर बनाएर बिक्री गर्नका लागि सहज हुने बताउनुभयो । संरचना निर्माण मात्र गर्नु भन्दा पनि यसको कार्यान्वयनमा जोड दिनु अहिलेको आवस्यक्ता रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*