मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिद गर्दा भ्रष्टाचार गर्ने ५ जना बिरुद्ध अदालतमा मुद्धा दायर

अक्सिजन प्लान्ट खरिदमा १ करोड १० लाख भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
जनपत्र
२३ असार २०८२, सोमबार ०६:४१

मकवानपुर/ मकवानपुरको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरी, तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, तत्कालीन ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. तथा उक्त  प्रा.लि.का अध्यक्ष/प्रोप्राइटर सोबित प्रसाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध जनही रु.१ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसा बिगो कायम गरी कैद र जरिवानासमेत माग गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड गरी जम्मा रु.१ करोड ५५ लाख बजेट विनियोजन भएकोमा आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक प्रवृति एवं प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. ले पेश गरेको रु.१ करोड १० लाख १ हजार १९५ रुपैयाँ ७५ पैसा को बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरेको अख्तियारको ठहर छ।

यस्तो छ अख्तियारको बिज्ञप्ती

जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२२ गते।
——————————————
जिल्ला मकवानपुर, थाहा नगरपालिकाले सेटिङमा बढी मुल्य हालेर अक्सिजन जेनेरेसन प्लान्ट खरिद गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा थाहा नगरपालिकाबाट आ.व. २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट रु.५५,००,०००।- र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु.१,००,००,०००।-गरी जम्मा रु.१,५५,००,०००।- बजेट विनियोजन भएकोमा नगरपालिकाबाट Procurement of Oxygen Generation plant (Pro-loc/oxygenplant-15-078/79) खरिद कार्यको लागि थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको संयोजकत्वमा गठित खरिद मूल्याङ्कन समितिले अक्सिजन जेनेरेसन प्लान्टको स्पेशिफिकेशन प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ती केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीबाट तयार गरी गराई स्वीकृत स्पेशिफिकेशनमा उल्लिखित बुँदा नं. 2.2.2a: Should be self-integrated Desiccant dryer (purifier) technology बमोजिमको अक्सिजन प्लान्टको बोलपत्र खरिदको सूचना प्रकाशित गरी गराई प्राप्त बिड रेस्पोन्स डक्युमेन्ट पेश गर्ने जम्मा ८ वटा फर्महरुमध्ये ६ वटा फर्महरुले Refrigerated Air Dryer Technology र २ वटा फर्महरुले Desiccant Air Dryer Technology प्रस्ताव गरेको अवस्थामा उक्त Desiccant Air Dryer Technology प्रस्ताव गर्ने बोलपत्रदाताको मात्र प्रस्तावलाई उत्तीर्ण गर्नुपर्नेमा प्रतिवादीहरुले बदनियत राखी Refrigerated Air Dryer Technology प्रस्ताव गरेको फर्महरुलाई समेत उत्तीर्ण गरे गराएको, Desiccant Air Dryer Technology प्रस्ताव गर्ने २ वटा फर्महरुलाई छोडेर माग भएको भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरित झुट्टा कागजातहरु पेश गरी गराई कम गुणस्तर र कम मूल्यको फरक प्रविधिको Refrigerated Air Dryer Technology प्रस्ताव गर्ने फर्म  Subharambha Service Traders Pvt.Ltd. लाई प्राविधिक रुपमा उत्तीर्ण गरे गराएको, सार्वजनिक खरिद ऐन, नियम बमोजिम बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्राविधिक स्पेशिफिकेशन र खरिद सम्झौताका शर्त अनुरुप बोलपत्र सारभूत रुपमा प्रभावग्राही भए वा नभएको विषय हेरी बोलपत्र मूल्याङ्कन गर्नुपर्नेमा प्रतिवादीहरुको आपसी मिलेमतो तथा योजनामा बोलपत्र मूल्याङ्कन गर्दा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेशनमा उल्लिखित विशेषता भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरीत झुट्टा कागजातहरु पेश गरी गराई कम गुणस्तर र कम मूल्यको फरक प्रविधिको Refrigerated Air Dryer Technology उपलव्ध गराउन प्रतिवादीहरुले आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेशनमा उल्लेखित बिशेषता भन्दा फरक प्रवृति एवं प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. ले पेश गरेको रु.१,१०,०१,१९९।७५ को बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरी सोही बमोजिमको सामाग्री समेत नगरपालिकामा दाखिला भई पेश्की रकम रु.१२,००,०००।– समेत दिइएको देखिएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायवमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*