देश विकासमा सबै दलबीच सहकार्य आवश्यक छ – नेकपा प्रवक्ता श्रेष्ठ

जनपत्र
१५ आश्विन २०७६, बुधबार १७:११

हेटौंडा । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देशको विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले लोकतन्त्र बिरोधी शक्तिहरुले सत्ता हत्याउन खोज्यो भन्ने गरिएपनि प्रतिगमनकारी शक्तिहरुले पून राज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताउनुभयो । विस्थापित शक्तिहरु जहिलेपनि चलमलाउन खोज्नु सामान्य भएको बताउदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिहरुले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिहरुले अवसर पाउने धारणा राख्नुभयो ।

रेडियो सन्देशको आयोजनामा भएको प्रदेश ३ का पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले देशको परराष्ट्रनीति , शिक्षा नीति तथा विकासको ठोस योजनाहरुमा आम सहमती हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

“राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदाय बीच आम एकता आवश्यक छ ”उहाँले भन्नुभयो । उहाँले भ्रष्टचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विना देशको अर्थतन्त्रको विकास नहुने धारणा राख्नुभयो । देश विकासको वाधकको रुपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो ।

नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पञ्छिने अवस्था नरहेकोले काम गरेर देखाउनु मात्र एकमात्र विकल्प रहेको उल्लेख गर्नुभयो । विश्व कै सुन्दर र सम्भावनै सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतहरुको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल , वर्ग र क्षत्रेका नागरिकहरु एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

समृद्ध नेपाल निर्माण गर्न ठुलो दल भएकोले नेकपाले नेतृत्व गरेपनि प्रतिपक्षीदलहरु पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उहाँको धारणा थियो । उहाँले समाजवाद उन्मुख समावेसी लोकतन्त्रलाई सफल बनाउन हिजो संगै लडेका शक्तिहरु बीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*