एकीकृत वस्ती कार्यक्रमबाट मकवानपुर र चितवनका चेपाङ समुदायमा खुसी

सरकारले सञ्चालन गरेको एकीकृत वस्ती आवास कार्यक्रमअन्तर्गत मकवानपुर र चितवनका चेपाङ परिवारका लागि घर निर्माण भएपछि उनीहरूमा खुसी छाएको छ । पहिला झुप्राघरमा बस्दै आएका चेपाङ परिवार अब जस्ताको छानो भएको सुन्दर घरमा बस्न पाउँदा आफूलाई सुरक्षित र सम्मानित महसुस गरिरहेका छन् । सरकारले प्रत्येक परिवारलाई चार लाख रुपैयाँका दरले आवास निर्माणका लागि अनुदान दिएपछि उनीहरूको घर निर्माण सम्पन्न भएको हो ।
जनपत्र
३ असार २०८२, मंगलवार ०६:११

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर–४ को गौयलीटार निवासी उमा प्रजा अहिले नयाँ घरमा बस्न पाएकोमा निकै खुसी छीन् । लगातारको मेहनत र सरकारी कार्यालयको सहयोगबाट उनले दुइ कोठाको घर र सौचालय समेत निर्माण गरेकी छिन् । चालु आर्थिक वर्षमानै घर सम्पन्न गरेर उनी नयाँ घरमा सरीसकेकी छिन् ।

बागमती प्रदेश सरकार अन्तरगतको सहरी विकास तथा भवन कार्यालय हेटौंडाले एकिकृत वस्ती आवास कार्यक्रम अन्तरगत उनको घर निर्माण गर्नका लागि रकम सहयोग गरेको हो । उनले तीन किस्ता वापतको चार लाख रुपैयाँ लागतमा घर निर्माण गरेर अहिले नयाँ घरमा बस्न थालेकी छिन् । पहिले निकै जिर्ण अनी पानी चुहिने घरमा बषौसम्म बसेको तिता अनुभव उनीसंग छ । अहिले भने सरकारी स्तरबाट घर निर्माण भएपछी उनी र उनका परिवार सरकारी सहयोगमा निर्माण भएको घरमा बस्दै आएका छन् ।

उनी जस्तै राक्सिराङ गाउँपालिका वडा नम्बर–४ को गौयलीटारका किरण प्रजा पनि नयाँ घरमा बस्न थालेका छन् । सहरी विकास तथा भवन कार्यालय हेटौंडाले तीन वर्ष अगाडी देखि सुरु गरेको चेपाङ, वनकरिया, बोटे र माझि एकिकृत वस्ती आवास कार्यक्रम अन्तरगत राक्सिाराङका धेरै चेपाङ परिवार सौचालय सहितको नयाँ घरमा बस्न पाएका छन् । यस कार्यक्रमबाट लगानी गरेर निर्माण गरिएको घरमा बस्न पाएकोमा उनी निकै खुसी पनि छन् ।

उनीहरु जस्तै राक्सिराङ–४ का किरण प्रजा, सुदिप प्रजा, सुरेश प्रजा, बुद्धीमान प्रजा लगायतकाले चालु आर्थिक वर्षमा घर सम्पन्न गरेर नयाँ घरमा सरेका छन् ।
नेपाल सरकार, बागमती प्रदेश सरकार र स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको एकीकृत वस्ती आवास कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको राक्सिराङका चेपाङ समुदायका दर्जनौं परिवारले नयाँ घर प्राप्त गरेका छन । जीवनभर जंगलको छेउ, भीरकानामा असुरक्षित र असहज बासस्थानमा गुजारो गर्दै आएका चेपाङहरू पहिलो पटक सुरक्षित, पक्की संरचनामा बस्न पाउँदा अत्यन्तै खुसी भएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका तथा भीमफेदी लगायतका चेपाङ बहुल बस्तीमा हालै निर्माण सम्पन्न घरहरू हस्तान्तरण गरिएपछि स्थानीय बासिन्दाहरूले नयाँ जीवनशैलीको अनुभव गर्न थालेका बताएका छन् ।

विगतमा बाँस, काठ, फुस वा जस्ताले टालटुल पारेर बनाइएका अस्थायी टहराहरूमा जीवन बिताउँदै आएका चेपाङहरूका लागि पक्की घरमा बस्न पाउनु सपनाझैँ थियो । तर, सरकारको यो कार्यक्रमले उनीहरूको त्यो सपना साकार बनाइदिएको सहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख सुबोध अधिकारीले बताए ।

सबैलाई आवासको सुविधा संबिधानमा उल्लेख गरिएको मौलिक हक रहेको बताउँदै उनले भने चेपाङ लगायतका सिमान्तकृत, पिछडीका समुदायनै तोकेरनै हामिले घर निर्माण गरिदिएका हौं । यस अनुसार काम पनि भएको छ । राज्यले सहयोग गरेको छ । तर, एक, दुइ किस्ता लिएपछी घर निर्माण नगर्ने समस्याहरु धेरै छन् । समयमानै घर निर्माण नगरेर बिगतका वर्षहरुमानै सम्पन्न गर्नुपर्ने घरका भुक्तानीहरु चालु आर्थिक वर्षमा पनि गरिएको छ ।’

राक्सिराङका बुद्धीमान प्रजा भन्छन्“हामी त वर्षामा पानी छिर्छ कि बाढी बगाउँछ भन्ने डरमै बस्थ्यौं। अहिले भने नयाँ घर पाएपछि नतिनी ति डर छन्, न चिसोले सताउँछ।”
प्रत्येक घरमा जस्ताको छाना, शौचालय सहितका सुविधाहरु घरमा छन् । यो सुविधाको कहिले पनि उपभोग गर्न नपाएका नागरिकले सुविधा पाएपछी खुसी समेत भएका छन् ।
कार्यक्रममा समावेश लाभग्राहीहरूलाई निर्माण सामग्री खरिद, प्राविधिक सहायता तथा अनुगमनमा समेत राज्यबाट सहयोग गरिएको छ । घर निर्माणमा स्थानीयकोे समन्वय, मजदुरको संलग्नता र समुदायको स्वामित्वसमेत जोडिएको पाइन्छ ।

चेपाङ समुदाय नेपालमा पछाडि पारिएका, अशिक्षित, कमजोर आर्थिक हैसियत भएका जातिहरूमध्ये एक हुन्। यो कार्यक्रमले उनीहरूलाई मात्र भौतिक संरचना नभएर आत्मसम्मान र आत्मनिर्भरता समेत प्रदान गरेको देखिन्छ ।

सहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख अधिकारी भन्छन्“यो केवल घर होइन, उनीहरूका लागि सम्मान र पहिचान हो। अब तिनीहरूको जीवनमा परिवर्तन आउनेछ। यो कार्यक्रमको मूल सार नै यही हो।”

यद्यपि, कार्यक्रमको कार्यान्वयनमा केही ढिलाइ, निर्माणको गुणस्तर र दीर्घकालीन दिगोपनामा अझै सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । कतिपय ठाउँमा दुर्गम भौगोलिक अवस्थाले सामग्री ढुवानीमा समस्या सिर्जना गरेको छ । साथै, सम्पूर्ण चेपाङ परिवार समेट्न अझ बजेट तथा योजना विस्तार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
सरकारले आगामी वर्षहरूमा थप एकीकृत वस्ती निर्माण गरेर अझ धेरै सीमान्तकृत समुदायलाई समेट्ने योजना बनाएको छ । यस कार्यक्रमबाट प्रेरित भई अन्य प्रदेश र पालिकाहरूले पनि यस्ता प्रयासहरू सुरु गरेका छन् । एकीकृत वस्ती आवास कार्यक्रम केवल भौतिक संरचना निर्माणको परियोजना होइन; यो गरिबी, असमानता, र सामाजिक बहिष्करण अन्त्य गर्न एक सार्थक अभियान हो ।

चेपाङ समुदायका अनुहारमा देखिएको मुस्कान र भविष्यप्रतिको आशा नै यसको सफलताको प्रमाण हो ।यस कार्यक्रमबाट चितवन जिल्लाको भरतपुर महाँनगरपालिका वडा नम्बर–१ का गोपाल प्रजा, मनमायाँ प्रजा, भरतपुर–२९ का सावित्रा मायाँ चेपाङ, शान्ति चेपाङको घर चालु आर्थिक वर्षमा निर्माण सकिएपछी अहिले नयाँ घरमा बस्दै आएका छन् ।

एकीकृत वस्ती विकास कार्यक्रमअन्तर्गत चितवन भरतपुर महाँनगरपालिकाको पनि विकट वस्तीमा बस्दै आएका यहाँका चेपाङ समुदायका लागि नयाँ पक्की घर निर्माण भएपछि उनीहरू खुशीले दङ्ग भएका छन्। लामो समयदेखि झुपडी र अस्थायी टहरामा बस्दै आएका चेपाङ परिवार अब सुरक्षित र व्यवस्थित घरमा बस्न पाउँदा दैनन्दिन जीवनशैलीमा ठूलो परिवर्तन आएको महसुस गर्दैछन्।

सरकारद्वारा प्रत्येक परिवारलाई चार लाख रुपैयाँका दरले अनुदान प्रदान गरिएपछि चेपाङ समुदायका लागि एकीकृत ढाँचामा घर निर्माण गरिएका हुन्। यस कार्यक्रमले उनीहरूको जीवनस्तर मात्र नभई सामाजिक सम्मान र सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको छ।

घर पाएसँगै पानी, बिजुली, बाटो लगायतका आधारभूत पूर्वाधारसमेत विस्तार गरिएको छ, जसले शिक्षादेखि स्वास्थ्यसम्मका सेवा लिन सहज भएको स्थानीयवासीको भनाइ छ।

एकीकृत वस्ती विकास कार्यक्रममार्फत गरिएको यस पहलले राज्यबाट पछाडि पारिएका समुदायलाई समावेशी विकासमा जोड्ने प्रयासका रूपमा उदाहरणीय कार्य भएको बताइएको छ । यस कार्यक्रमबाट चितवन र मकवानपुर जिल्लामा बसोवास गर्ने चेपाङ परिवारका लागि धेरै राम्रो काम भएको सहरी विकास तथा भवन कार्यालय हेटौंडाका सामाजिक परिचालक सुर्दशन प्रसाद उपाध्यायले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*