त्रिकाेणात्मक टी-२० सिरिज : जिम्बाब्वेसँगकाे दोस्राे खेलमा नेपाल ४० रनले पराजित

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०५:५५

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो । नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । इशान पाण्डेका ठाउँमा आज खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङमा आए पनि उनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए । खड्का आउट हुँदा ३३ रन बनाएको नेपालका लागि आरिफ शेख र विनोद भण्डारीले नेपालको पारी अघि बढाएका थिए । तर ५४ रन पुग्दा आरिफ शेख आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । नेपालले पाँचौँ विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो ।

मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर ब्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए । १०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १० बल फेस गरेका करणले १ चौका र १ छक्का प्रहार गरेका थिए । १८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएपछि नेपालको झिनो आशा पनि सकिएको थियो । भण्डारीले ३३ बलमा ३५ रन बनाएका थिए । १८।५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*