बागमती प्रदेश लिग फुटबल: दोलखा र सिन्धुलीको विजयी सुरुवात

जनपत्र
१२ पुष २०८१, शुक्रबार ०७:२०

हेटौंडा – हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत दोलखा र सिन्धुलीले विजयी सुरुवात गरेका छन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार सम्पन्न खेलहरूमा दोलखाले नुवाकोटलाई र सिन्धुलीले भक्तपुरलाई पराजित गरेका हुन्।

पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। दोलखाको तर्फबाट सुजन माझी र संग्राम श्रेष्ठले एक–एक गोल गरे।

दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पलाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले हराएको छ। सिन्धुलीको जीतमा सञ्जिव धामी, समिर धामी र रवी महतराले एक–एक गोल गरे।

यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौंले काभ्रेलाई ३–० गोल अन्तरले हराएको थियो। बिहीबारको जितसँगै दोलखा र सिन्धुलीले ३–३ अंक बटुलेका छन्।

प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल धादिङको धुनिबेँसी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबिच हुनेछ ।

प्रतियोगितामा प्रदेशका १३ जिल्लाका ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः दुई लाख र एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*