बागमती सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई १० करोड दिने

जनपत्र
१२ पुष २०८१, शुक्रबार ०७:०२

 हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १० करोड बजेट दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार अनुदानका रुपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको छ ।

चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ निकासा दिइने भएको हो । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच लागत साझेदारीमा अलपत्र क्रिकेट रंगशालाको निर्माण अघि बढाउने सम्बन्धमा २१ कार्तिक २०८० मा सम्झौता भएको थियो ।

बागमती सरकारले रंगशाला निर्माणमा ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी रहने गरि सम्झौता भएको हो ।

३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्नेगरी २४ असार २०८१ मा भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको थियो । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*