गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश ३ को साथ रहन्छ– मुख्यमन्त्री पौडेल

जनपत्र
१२ आश्विन २०७६, आईतवार १९:२६

हेटौंडा / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश ३ को सकारात्मक साथ रहने बताउनुभएको छ ।
गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ को अवसरमा आज गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा हेटौंडामा आयोजित पर्यटन प्रवद्र्धन अभियानलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले गण्डकी प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानमा आफू स्वयम सहभागी भएर र प्रदेशका अन्य व्यक्तित्वहरुलाई सहभागी गराएर सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले देशको “समृद्ध नेपाल , सुखी नेपाली ” भन्ने नारालाई सार्थक बनाउन सबै प्रदेशले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले हामीले परिवर्तित ब्यवस्था अनुरुप आफूलाई पनि परिवर्तन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकारले पर्यटनलाई तेस्रो स्थानमा महत्व दिएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री विकाश लम्सालले नेपालीले नेपाललाई चिन्नुपर्छ भनेर गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षको रुपमा २०१९ लाई र २०१९ देखि २०२२ सम्म त्रिवर्षको रुपमा मनाउने जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशले आगामी ५ वर्ष भित्र पर्यटन मार्फत ठुलो प्रगति गर्ने अपेक्षा राखेको बताउदै गण्डकी प्रदेशले आगामी ३ वर्ष भित्र मात्रै १५ लाख पर्यटक भित्र्याउने अपेक्षा राखेको उल्लेख गर्नुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेश देशका सबै नागरिकलाई स्वागत गर्न आतुर रहेको भन्दै प्रदेश ३ का मुख्यमन्त्री मार्फत सम्पूर्ण प्रदेश ३ का नागरिकहरुलाई भ्रमणको निमन्त्रणा दिनुभयो । उहाँले गण्डकी प्रदेशका तीन सय वटा होमस्टे र पोखराका ६ सय होटल आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण वर्षको अवसरमा बिषेश छुटको लागि सम्वन्धित निकायहरुसंग सम्झौता समेत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका रामकृष्ण थापाले मकवानपुर तथा प्रदेश ३ का विभिन्न पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

किन जाने गण्डकी प्रदेश ?

गण्डकी प्रदेश प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायत दृष्टिले सम्पन्न प्रदेश हो । विश्वमै प्रसिद्ध अन्नपूर्ण तथा मनास्लु क्षेत्र, विश्वको सर्वोच्च उचाइमा रहेको तिलिचो ताल (४९१९ मिटर), विश्वकै होचो काली गण्डकी गल्छी, म्याग्दीको रुप्से धर्ना, काली गण्डकी नदी पनि यही प्रदेशमा छ ।

नेपालको पर्यटकीय राजधानीको रुपमा चिनिने पोखरा पर्यटकको आकर्षणको केन्द्र हो । पोखराबाट धवलागिरी र अन्नपूर्ण हिमश्रृंखला देख्न सकिन्छ । देशको एक मात्र शिकार आरक्ष ढोरपाटन गण्डकीमै छ । लोपोन्मुख हिउँचितुवा, कस्तुरी मृग, हाब्रे जस्ता जनावर, यार्सागुम्बा, भोटे लसुन, डालेचुक, क्यान्सरको उपचारका लागि प्रसिद्ध लौठसल्लादेखि लालिगुराँसको घना जंगल (घोरेपानी), सुनाखरीको राजधानी (पञ्चासे लेक) गण्डकी प्रदेशमै पर्छ । फेवाताल, बेगनासताल, रुपाताल जस्ता तालतलैया, सहासिक खेलहरु गण्डकी प्रदेशमा पुग्ने पर्यटकलाई अल्झाउँछ ।

मध्यकालीन चौबिसे राज्यको रुपमा रहेका कास्की, लमजुङ तनहुँ, गोरखा, रिसिङ, ढोर दरबार, घिरिङ र पुर्कोट यसैमा पर्छ । पुरातात्विक महत्वका विभिन्न दरबारले पनि पर्यटकलाई भुलाउँछ ।

हिमालपारीको जिल्ला मुस्ताङ स्थित जोमसोम, लोमान्थाङ, मुक्तिनाथ मन्दिर, कागबेनी लगायतका धार्मिक तथा पर्यटकीय स्थल, म्याग्दी स्थित ढोरपाटन आरक्ष, बेनी शिवालय,धवलागिरी हिमाल, गुज्र्रा हिमाल, मानापाथी हिमाल, हिमनदी, पुनहिल, तातोपानी कुण्डहरु छन् । त्यस्तै बाग्लुङ, पर्वत, स्याङजा, कास्की, लमजुङ, मनाङ, गोरखा, तनहुँ, नवलपुर जिल्लाका धार्मिक, ऐतिहासिक, प्राकृतिक मनोरम धरोहरहरु पर्यटकलाई आकर्षित बनाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*