नारायणगढ–मुग्लिन सडकको विकल्प हुन सक्छ ‘रुपचन्द्र विष्ट मार्ग’

आशिष अस्लामी
१४ श्रावण २०८१, सोमबार ०६:११

नेपाली समाजमा यात्रा बारे एउटा लोकोक्ति छ कि “लामो दुरीको यात्रा गर्दा सपरिवार एउटै गाडीमा यात्रा गर्नु हुँदैन ।” यसको तात्पर्य अनेक हुन सक्छन्, एउटा चाँही दुर्घटनामा परेमा एकै परिवारका सवैजना एउटै घटनामा नपरुन् भन्ने हो । यसबाट यात्रा गर्दा दुर्घटनाको जोखिम पनि बराबार छ भन्ने बुझाइ हुन्छ ।

हिँउदो, बर्षा प्रत्यक साल आइ नै रहन्छ तर पनि आज सम्म दुर्घटनाको ठुलो जोखिम रहेको तथा बर्षाजन्य पहिरोको कारण बाटो लथालिङ्ग भइ बन्द भइ रहने नारायणगढ–मुग्लिन सडकको विकल्प छैन अर्को कुनै मार्ग छैन । यो सडक त्रिसुली नदीको पाश्र्वमा भिरैभिर भएर जान्छ । घण्टौं जाममा रहनुपर्ने यो सडक चौडा पछि जामको समस्या विस्तारै समाधान हुने भनिए पनि हरेक बर्षा याममा पर्ने पानीका कारण यस् क्षेत्रमा कतिवेला कुन स्तरको पहिरो आउँछ भन्ने लख काट्न सकिदैन ।

पानी पर्ना साथै यो सडकमा यात्रा गर्दा त्रासदीपुर्ण यात्रा गर्नुपर्ने हुन्छ । असार ३० गते आईतवार नयाँ पत्रीकामा प्रकाशित सामग्रीका अनुसार नारायणगड–मुग्लिन सडकमा यात्रा गर्दा २०७५÷०७६ यता पहिरोमा परेर ३७९ जना, दुर्घटनामा ११७ जनाको मृत्यु भई सकेको छ । हामी संधै यस् प्रकारको जोखिमपुर्ण यात्रा गरि राख्ने हो ? कि सम्बन्धित निकायलाई ऐच्छिक सडक निर्माण गर्नका लागि प्रेसर सिर्जना गर्ने हो । हामी किन यस्को विकल्पको चर्चा गर्न सुरु नगर्ने ?

यहाँ चर्चा गर्न खोजिएको “रुपचन्द्र विष्ट मार्ग” नेकपा (एमाले)का नेता एवम् मुख्य सचेतक महेश कुमार वर्तौलाले प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारलाई प्रस्ताव गर्नु भएको मार्ग हो । जस्को अध्ययनका लागि भनेर संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले १ करोड ६२ लाख रुपैयाँ यहि आ.व. २०८१÷०८२ मा कार्यान्वयन हुने गरी विनियोजन भएको छ ।

अङनै जिरिङ्ग हुने केहि ठुला दुर्घटनाः

नारायणगड–मुग्लिन सडक अन्तर्गत भरतपुरको सिमलतालमा गएको असार २८ गते शुक्रबार भयङ्कर दुर्घटना भयो । सिंदुरे गैरा खोलामा आएको दबदबे हिलोले दुई वटा बसलाई बगाएर सय मिटर तल बाढी आईरहेको खोलामा पुर्याएको थियो । जसमा ६५ जना यात्रु सवार थिए । २०७३ सालमा पुर्व गृहमन्त्री माधव प्रसाद घिमिरेको पनि बर्षाकै समयमा जीप दुर्घटना भएको खबर हामलाई जानकार नै छ । त्यतीबेला दुर्घटना स्थलमा पूर्व गृहमन्त्री घिमिरेको आमा चैतन्य कुमारी र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव फेला परेको थियो ।

पुर्व गृहमन्त्रीका साथै भाइ, नातेदारहरु मोहन घिमिरे र नारायण प्रसाद काफ्ले जीपसँगै बेपत्ता भए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोजीमा खटियो तर पनि फेला पर्न सकेन । अर्को घटना २०७४ साउन २० गते राति पनि उक्त बाटोमा माथिबाट झरेको पहिरोले गर्दा दुईवटा ट्रकहरु पुरिएको थियो । यी घटनाहरुकोे आलम्बन लिएर भन्न सकिन्छ कि यो सडकको यात्रा धरापयुक्त छ । सरकारले यहि सडकको पारी तिरबाट वैकल्पिक सडक बनाउने भनिएता पनि त्यहाँको भुगोल, बनोट हेर्दा पारि तटको यात्रा पनि त्रासदीपुर्ण नहोला भन्न सकिदैन ।

यो सडकमा हाल सम्म संघीय सरकारको मौजुदा संचिती कोषबाट खर्बौ रकम खर्च भई सकेको छ र सडक विभागबाट प्राप्त जानकारीका अनुसार अहिले पनि वार्षिक ५–६ हजार करोड सरकारले खर्चि रहेको छ । गएको आ.व. २०८०/०८१ को मात्रै सरकारको ६ हजार २०० करोड ठेकेदारलाई तिर्नुपर्ने अनिवार्य दायित्व छ । तर पनि यो सडकको क्षमता के कति भन्ने कहिल्यै मापन हुँदैन । न त लगानी गरेको मुताबिक सर्र यात्रा गर्न पाईएको छ ।

मनहरीबाट पालुङ–चन्द्रगिरी हुँदै डेढ घण्टामा काठमाण्डौं

पश्चिम देखि महेन्द्र राजमार्ग भएर यात्रा गर्ने र काठमाण्डौं प्रवेश गर्ने यात्रुहरुका लागि नारायणगड–मुग्लिनको वैकल्पिक सडकको रुपमा रुपचन्द्र विष्ट मार्ग मनासिब हुन सक्छ । प्रस्तावित मार्गबाट मनहरीको सिम्पानी–सरिखेत–कालिकाटार हुँदै पालुङ र चन्द्रगिरि हुँदै थानकोट निस्कनेछ । यसमा जम्मा डेढ घण्टाको मात्रै समय खर्च हुन्छ । यस् भेगको भौगोलिक बनावट पनि पक्की खाल्को तथा भिरहरु कम पर्ने कारण पनि यात्रुहरुलाई यात्रा गर्न जोखिम कम हुन सक्छ ।

अहिले नारायणगडबाट मुग्लिन भएर काठमाण्डौं यात्रा गर्दा १४६.६ कि.मि. दुरी पार गर्नुपर्ने हुन्छ । यो भनेको प्रतिघण्टा ४० कि.मि.ले करिव ४ घण्टाको यात्रा हो । तर रुपचन्द्र विष्ट मार्ग बनेको अवस्थामा नारायणगड देखि मनहरी सम्म ३८.२ कि.मि र काठमाण्डौं देखिको पालुंङ शिखरकोट सम्मको दुरी ४१ कि.मि. हो । शिखरकोट देखिको मनहरीसम्म अनुमानित दुरी ३० किमि. हुँदा जम्मा दुरी ७१ कि.मि. मात्रै हुन्छ । यो बाटो भएर प्रतिघण्टा ४० कि.मि.को यात्रा गर्ने हो भने करिव डेढ घण्टामै काठमाण्डौ पुग्न सकिन्छ ।

राष्ट्रिय पञ्चायतको सदस्य रुपचन्द्र विष्ट यसै भेगबाट निर्वाचित थिए र आज पनि जीवित नरहे पनि यस क्षेत्रमा उनले प्रतिपादन गरेको थाहा दर्शन, उनको नाम तथा उनका हर्कतहरु जीवितै छन् । विष्ट ठुला ढुंगा, घरको भित्ता जताततै “थाहा” लेख्दै हिड्दथे । थाहा उनको आन्दोलन थियो । थाहा दर्शनको प्रणेता उनैको नामबाट प्रतिनिधि सभा सदस्य महेश कुमार वर्तौलाले रुपचन्द्र मार्गको प्रस्ताव गर्नु भएको हो । यस्बाट मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश, थाहा क्षेत्रका स्थानीय जनतालाई मात्रै नभई देशकै पश्चिमी क्षेत्रबाट काठमाण्डौं र काठमाण्डौंबाट पश्चिम यात्रा गर्ने यात्रुहरुलाई प्रत्यक्ष फाईदा पुग्नेछ ।

छिटो र सुरक्षित यात्रा गर्न सकिने मार्गको परिकल्पनाः

रुपचन्द्र विष्ट मार्गको परिकल्पनाकार साँसद महेश वर्तौला नै हुन् । दुई ठुला राजमार्गहरु त्रीभुवन राजपथ र महेन्द्र राजर्माको बिचमा चार वटा स्थानीय तहहरु भएर जाने र नारायणी पारीका यात्रुहरुका लागि लक्षित गरी उहाँले यो मार्गको परिकल्पना गर्नु भएको हो । यस्को परिकल्पना त्यती सहजै भएको होईन । उहाँ यस क्षेत्रमा विभिन्न राजनैतिक तथा सामाजिक कामहरुमा विद्यार्थी कालदेखि नै मिहिनेत गरेर पैदल यात्रा गरेर काम गर्नु भएको र त्यहाँका जनजनका मनमा वस्नु भएको नेतृत्व हुनुहुन्छ । उहाँले त्यस् भेगको दशकौं सम्म्को हजारौं पटकको पैदलयात्राहरुमा पनि एस भुगोलमै एक ईन्च कालोपत्रे भएको नदेखेको तथा नारायणगड–मुग्लिन सडक खण्डको असुरक्षित र जोखिमपुर्ण यात्रा देखि यो सडकको परिकल्पना गर्नु भयो । त्यस्को बारेमा संसदबाटै तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री रघुविर महासेठ र सरकारको ध्यानाकर्षण गराउनु भयो । परिणाम स्वरुप भौतिक मन्त्रालयले यसै बर्ष काम अगाडी बढाउने र केहि बर्षमा नाराणगढको पुल पारीका आम मानिसहरु सुरक्षित यात्रा गर्न पाउनेमा आशावादी हुन सकिन्छ ।

नेपालको पश्चिम भेगका आम नागरिकका लागि प्रस्ताव गरिएता पनि यदि यो रुपचन्द्र विष्ट मार्ग निर्माण हुन सकेको अवस्थामा बारा, पर्सा लगायत छिमेकी मुलुक भारत देखिका यात्रुहरु मज्जाले न्युनतम समय र लागतमा काठमाण्डौं ओहोरदोहोर गर्न सक्ने सडक बन्न सक्नेछ । हुन त यो सामग्री अध्ययन गरिसके पछी “आम्रो देश योजनै योजना बन्ने देश हो” भनेर पनि भन्नु होला । तर नारायणगढ–मुग्लिन सडकको विकल्प कुनै पनि हालतमा आवस्यक छ । मलाई लाग्छ त्यसको लागि छोटो, राम्रो र सुरक्षित यात्रा गर्नको लागि मनहरी देखि थाहा र चित्लाङ भएर काठमाण्डौंको निस्कने सडक जतिको अर्को विकल्प हुन सक्दैन । सुरक्षित सार्वजनिक यातायातमा ढुक्कले यात्रा गर्नका लागि नारायणगढ–मुग्लिन सडकको जोखिमपुर्ण यात्राको अनुकूल विकल्प ‘रुपचन्द्र विष्ट मार्ग’ हुन सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*