सञ्चारकर्मी लामिछाने र कँडेलको बहस दशैंपछि हुने

जनपत्र
९ आश्विन २०७६, बिहीबार १६:३५

हेटौंडा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको बिरुद्धमा दिएको निवेदन उपरको सुनुवाई दशैंपछि मात्र हुने भएको छ । जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्वयलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ धरौंटीमा रिहा गरेको विरुद्धमा उनीहरुले गत भाद्र १७ गते निवेदन दर्ता गराएका  थिए ।

सरकारी वकीलको कार्यालयको मिसिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्रतिवादी बनाईएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृण देउलाले आजको बहस, सुनुवाई स्थगित गरी पाउँ भनी गत भाद्र २६ गते उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दिएको हुनाले आजको बहस स्थगित भएको उच्च अदालत हेटौंडाका प्रवक्ता अमृत घिमिरेले बताएका छन् ।

भोलि शुक्रबारबाट दशैंको बिदा सकिएपछि मात्रै अदालत खुल्ने भएकोले कार्यालय खुलेपछि यस मुद्दालाई पेशी चढाईने र सोपछि मात्रै सुनुवाईको मिति तय हुने बताईएको छ । उच्च अदालतका अनुसार हेटौंडा इजलाशमा तल्लो तहको अदालतको विषयमा गरिने सुनुवाई वा बहस प्रत्येक विहिबार मात्रै हुने कार्यतालिका भएकाले सम्भवत आश्विन ३० गते बहस तथा सुनुवाई हुने सम्भावना रहेको प्रवक्ता घिमिरेले बताएका छन् ।

सञ्चारकर्मी द्वयले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम आदेश बदर गरी साधारण तारेखमा मुद्दा पुर्पक्ष गरी पाऊँ उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*